प्युठान, साउन २८ गते । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाका किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ।
बिहीबार बिहान करिब ७ः३० बजेको समयमा स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।
स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। यस्तै, स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा बायाँ खुट्टाको घुँडादेखि तलको भाग नभएको महिलाको शव तथा सोही स्थानमा अर्को एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवहरू सबैको पहिचान खुल्न सकेको छैन। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान तथा शवहरूको पहिचान गर्ने कार्य अघि बढाएको छ।
प्रहरीले हालसम्म परिवारसँग सम्पर्क हुन नसकेका व्यक्तिहरूको अवस्था बुझ्न तथा आफन्त हराएको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पर्क नम्बर: ९८५७८३७०४९, ९८५७८१५५५५
