ललितपुर । ललितपुर महानगरपालिका–१० बालकुमारीबाट बैंकिङ कसुर तथा चेक अनादरसँग सम्बन्धित १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१० बालकुमारी बस्दै आएका ३३ वर्षीय गणेश भण्डारी रहेका छन्।
प्रहरीका अनुसार भण्डारीविरुद्ध बैंकिङ कसुर तथा चेक अनादरसँग सम्बन्धित १२ वटा मुद्दा रहेका छन्। ती मुद्दामा उनले २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको ठगी गरेको उल्लेख छ।
अदालतको फैसलाअनुसार भण्डारीलाई १६ दिन कैद र १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रुपैयाँ जरिवाना तोकिएको छ।
फैसला कार्यान्वयनका लागि पक्राउ परेका भण्डारीलाई भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।
