• Sunday 4th of October 2026

क्याम्ब्रिजका सबैभन्दा कान्छा अश्वेत प्राध्यापकको रहस्य मृत्यु


  • धनकुटा खबर
  • .

लन्डन, ३१ साउन । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सबैभन्दा कान्छा अश्वेत प्राध्यापक जेसन अर्डेको ४१ वर्षको उमेरमा निधन भएको छ।

 

उनले शिक्षा र समाजसँग सम्बन्धित विषयहरूमा अनुसन्धान तथा अध्यापन गर्थे। स्थानिय समय अनुसार शुक्रबार दिउँसो करिब ३ बजे दक्षिण लन्डनको ब्याटरसीस्थित उनको घरमा उनी अचेत अवस्थामा फेला परेका थिए। एम्बुलेन्स टोलीले उनलाई बचाउने प्रयास गरे पनि उनको उपचारको क्रममा निधन भएको हो ।

 

प्रहरीका अनुसार उनको मृत्यु आकस्मिक रूपमा भएको हो। हालसम्म मृत्यु शंकास्पद रहेको कुनै प्रमाण फेला परेको छैन। प्रहरीले परिवारसँग सम्पर्क गरिरहेको छ र घटनाको अनुसन्धान गरिरहेको छ।

 

जेसन अर्डेले गत ५ अगस्टमा मात्रै क्याम्ब्रिज विश्वविद्यालयबाट राजीनामा दिएका थिए । उनको अनुसन्धानका केही पक्षहरूलाई लिएर प्रश्नहरू उठिरहेकै बेला यो निर्णय आएको हो। क्याम्ब्रिज विश्वविद्यालयले उनको नियुक्ति र त्यहाँ उनले गरेको कामबारे छानबिन पनि सुरु गरेको थियो। 

विश्वविद्यालयले अर्डेले सन् २०२२ मा कसरी प्राध्यापक पद प्राप्त गरे र आफ्नो कार्यकालमा उनले गरेको कामको प्रकृति कस्तो थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको थियो। राजीनामा पछि अर्डेले आफूमाथि लगाइएका निरन्तरका आरोपहरू र सार्वजनिक टिप्पणीहरूले आफूलाई गहिरो असर पारेको बताए।

 

आर्डीले सन् २०१५ मा बेलायतको लिभरपूल जोन मूर्स विश्वविद्यालयबाट आफ्नो पीएचडी पूरा गरे। सोही अवधिमा उनले एउटा अनुसन्धान प्रतिवेदन तयार पारेका थिए।

 

पछि, उनको अनुसन्धानका केही अंशहरूलाई लिएर आरोपहरू लागेको थियो, जसमा उनले अरूले लेखेका सामग्रीहरू उचित श्रेय नदिई प्रयोग गरेको दाबी गरिएको थियो। सरल शब्दमा भन्नुपर्दा उनलाई आफ्नो अनुसन्धानमा ‘प्लेजरिज्म’ अर्थात बौद्धिक चोरी गरेको आरोप लगाइएको थियो।

 

आर्डीले यी आरोपहरू अस्वीकार गर्दै आएका थिए । त्यसपछि, उनका अन्य केही अनुसन्धान कार्यहरूमा रहेका त्रुटिहरूबारे पनि आरोपहरू उठाइरहेको बेला उनको ‘रहस्य मृत्यु’ भएको हो। स्थानिय प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको छ।
  
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖