पोखरा । प्रधानमन्त्री बालेन शाह पोखरा पुगेका छन्। शुक्रबार बिहान काठमाडौंबाट स्थलमार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गरेका शाह पोखरा पुगेको सुरक्षा स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह काठमाडौंबाट पोखरासम्म गाडीमै पुगेपछि त्यहाँबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ।
यद्यपि, मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे आफूलाई औपचारिक जानकारी प्राप्त नभएको बताएकी छन्।
उनले प्रधानमन्त्री आउने विषयमा सोधिएको प्रश्नमा, ‘उहाँ आउने औपचारिक जानकारी छैन,’ भनेकी छन्।
मुक्तिनाथ दर्शन गर्ने तयारी
प्रधानमन्त्री शाहको यसपटकको मुस्ताङ भ्रमणमा मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।
समुद्री सतहबाट करिब ३ हजार ८०० मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थल हो।
पछिल्लो समय प्रधानमन्त्री शाहले रुग्ण उद्योग पुनः सञ्चालन तथा देशभित्रका पर्यटकीय सम्भावनालाई प्रवर्द्धन गर्ने विषयमा सक्रियता देखाउँदै आएका छन्। मुस्ताङ भ्रमणलाई पनि धार्मिक पर्यटनसँगै नेपालको पर्यटकीय सम्भावना उजागर गर्ने प्रयासका रूपमा हेरिएको छ।
प्रधानमन्त्रीको भ्रमणको औपचारिक कार्यक्रम तथा सुरक्षा व्यवस्थाबारे भने सम्बन्धित निकायबाट विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन।
