• Saturday 28th of November 2026

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)


  • धनकुटा खबर
  • .

तेजन खड्का ,काठमाडौं । यस वर्षको तीजलाई लक्षित गर्दै बहुचर्चित गायक सुरेश शाहीको स्वरमा नेपाली महिलाका दैनिक भोगाइ, पारिवारिक सम्बन्ध, महँगीदेखि देशमा बढ्दो बेरोजगारीसम्मका विषयलाई रमाइलो ढंगले प्रस्तुत गरिएको तीज गीत सार्वजनिक भएको छ।

गायक शाहीको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको गीतमा नवोदित गायिका विनूशा राईको समेत स्वर रहेको छ। गीतको रचना व्यवसायी सुमित्रा खड्काले गरेकी हुन्।

गीतको म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदीपा पाठक र विक्की विश्वकर्माले अभिनय गरेका छन्। भिडियोको निर्देशन शेर शाहीले गरेका हुन्।

गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति श्रीमान्सँग गुनासो गरेकी छन्। ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै तीजमा गरगहना लगाउने आफ्नो चाहना पूरा हुन नसकेको पीडा उनले व्यक्त गरेकी छन्। त्यसको जवाफमा श्रीमान्ले पनि आर्थिक अवस्थाका कारण आफ्नो बाध्यता सुनाएका छन्।

गीतको अर्को अन्तरा भने सासू–बुहारी सम्बन्धमा केन्द्रित छ। सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेकोदेखि घरभित्र हुने सामान्य भनाभनसम्मका विषयलाई हास्यरसमा प्रस्तुत गरिएको छ। अन्ततः ‘सासू–बुहारी नमिलेको घर कहाँ छ ?’ भन्ने भावमार्फत पारिवारिक सम्बन्धमा आपसी समझदारी र मेलमिलाप आवश्यक रहेको सन्देश दिन खोजिएको छ।

त्यस्तै, नन्दले लगाउने कुरा, सासूको व्यवहारदेखि श्रीमान्–श्रीमतीबीच हुने सामान्य गुनासासमेत गीतमा समेटिएको छ। एउटै कुरा पटक–पटक दोहोर्‍याउने श्रीमान्को बानीदेखि आफूले भनेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा प्रस्तुत गरिएको छ।

गीतको अन्तिम भाग भने अझ समसामयिक विषयमा केन्द्रित छ। जेठाजु युरोप र देवर अमेरिका पुगे पनि आफ्ना श्रीमान् भने आफ्नै देशमा बेरोजगार रहेको महिलाको गुनासो गीतमा सुनिन्छ। विदेशमा रहेका आफन्तले सम्मान पाउने तर आफ्नै देशमा बेरोजगार भएर बस्दा अपहेलना सहनुपर्ने अवस्थालाई पुरुष पात्रले आफ्नो पीडाका रूपमा व्यक्त गरेका छन्।

तीजको रमझमसँगै महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी तथा दाम्पत्य जीवनका साना–ठूला गुनासालाई एउटै कथामा बुनेको यो गीतले नेपाली समाजको बदलिँदो पारिवारिक तथा आर्थिक अवस्थालाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ।

गीतकी रचनाकार व्यवसायी सुमित्रा खड्काले यस तीजमा आफ्नो गीतमा महिलाहरूले नाचेर, गाएर भरपूर मनोरञ्जन लिने विश्वास व्यक्त गरेकी छन्।

 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖