काठमाडौं । फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या हुँदा खानपिनमा मात्र होइन, दिनभरि के पिइन्छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ।
विशेषगरी चिनी धेरै भएका सफ्ट ड्रिंक, प्याकेज्ड जुस, मीठो चिया–कफी र अन्य गुलिया पेय पदार्थको नियमित सेवन कम गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यस्ता पेयमा हुने अतिरिक्त चिनी, मुख्यतया ‘फ्रुक्टोज’ मोटोपना र मेटाबोलिक समस्यासँग जोडिनुका साथै यसले फ्याटी लिभरको जोखिम झनै बढाउन सक्छ।
फ्याटी लिभर व्यवस्थापनमा कुनै एउटा पेयले मात्र समस्या समाधान गर्दैन। यसका लागि समग्र खानपान, तौल नियन्त्रण र नियमित शारीरिक गतिविधि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
तौल घटाउने, स्वस्थ आहार लिने र व्यायाम गर्ने बानीले कलेजोमा जमेको बोसो कम गर्न तथा रोगलाई बढ्नबाट रोक्न मद्दत गर्छ। ‘अमेरिकन एसोसिएसन फर द स्टडी अफ लिभर डिजिज’का अनुसार करिब ५ देखि १० प्रतिशत मात्र तौल घटाउँदा पनि कलेजोको बोसो, सुन्निने समस्या (सूजन) र फाइब्रोसिसमा उल्लेख्य सुधार देखिन सक्छ। त्यसैले दैनिक पेय पदार्थ छनोट गर्दा तलका स्वस्थकर विकल्पलाई प्राथमिकता दिन सकिन्छ:
ब्ल्याक कफी
फ्याटी लिभर भएका व्यक्तिका लागि ब्ल्याक कफी एक उपयुक्त विकल्प हुन सक्छ। विभिन्न अध्ययनहरूले कफीको सेवनले कलेजोमा हुने क्षति र फाइब्रोसिस कम गर्न मद्दत गर्ने देखाएका छन्। तर, यसको अर्थ धेरै कफी पिउनुपर्छ भन्ने होइन। कफीमा धेरै चिनी, फ्लेभर्ड सिरप वा बोसोयुक्त क्रिम थप्दा अतिरिक्त क्यालोरी र चिनीको मात्रा बढ्न सक्छ। त्यसैले सकेसम्म सादा कफी रोज्नु राम्रो हुन्छ। यदि कफीमा क्रिम मन पर्छ भने कम चिनी वा स्याचुरेटेड फ्याट (बोसो) कम भएका क्रिम मात्र हाल्न सक्नुहुन्छ।
ग्रिन टी
ग्रिन टीमा ‘क्याटेचिन’ जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छन्। यी तत्त्वले कलेजोको स्वास्थ्यमा फाइदा पुर्याउने कुरा केही अध्ययनले देखाएका छन्। ग्रिन टीमा चिनी भने हाल्नु हुँदैन। यसलाई तपाईं चिसो बनाएर ‘आइस टी’ (Ice Tea) को रूपमा पनि पिउन सक्नुहुन्छ।
गुलियो नभएको स्पार्कलिङ वाटर
यदि तपाईंलाई सफ्ट ड्रिंक पिउने बानी छ भने चिनी नभएको स्पार्कलिङ वाटर राम्रो विकल्प हुन सक्छ। यसमा सामान्यतया चिनी र क्यालोरी हुँदैन। यसको स्वाद बढाउनका लागि कागती वा पुदिनाको प्रयोग गर्न सकिन्छ। फ्याटी लिभर भएका व्यक्तिले सोडा, मीठो जुस, स्पोर्ट्स ड्रिंक र अत्यधिक गुलिया पेयको सेवन घटाएर यस्ता स्वस्थ विकल्प रोज्नु बुद्धिमानी हुन्छ।
सोया मिल्क
चिनी नमिसाइएको सोया मिल्क प्रोटिनयुक्त ‘प्लान्ट–बेस्ड’ पेय हो। यसलाई गाईभैंसीको दूधको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। तर, बजारमा पाइने सबै सोया मिल्कको पोषण तत्त्व एउटै हुँदैन। त्यसैले खरिद गर्दा चिनी नथपिएको (Unsweetened) विकल्प रोज्नु र प्याकेटमा रहेको पोषण लेबल हेर्नु राम्रो हुन्छ।
आल्मन्ड मिल्क
गुलियो नहालिएको आल्मन्ड मिल्क पनि कम क्यालोरी भएको उत्कृष्ट ‘प्लान्ट–बेस्ड’ विकल्प हुन सक्छ। यसलाई कफी, ओटमिल वा स्मुदीमा दूधको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। तर ‘आल्मन्ड मिल्क’ लेखिएको भरमा सबै उत्पादन स्वस्थ हुन्छन् भन्ने हुँदैन। बजारमा पाइने केही फ्लेभर्ड उत्पादनमा बाहिरी चिनी थपिएको हुन सक्छ। त्यसैले किन्दा थपिएको चिनी (Added Sugar) को मात्रा जाँच गर्न आवश्यक हुन्छ।
