काठमाडौँ । ठुलो आन्द्राको क्यान्सर एक खतरनाक क्यान्सरमा पर्दछ । यो व्यक्तिको ठुलो आन्द्रा, मलाशय वा मलद्वारमा विकास हुन सक्छ ।
यो क्यान्सरलाई पहिले वृद्ध वयस्कहरूमा मात्रै पाइने रोग मानिन्थ्यो, तर अमेरिकी क्यान्सर अनुसन्धान संस्थान (सीआरआई)का अनुसार, यो क्यान्सरका बिरामीमा अब युवा वयस्कहरू पनि धेरै देखिन थालेका छन् ।
धेरैजसोमा ठुलो आन्द्राको क्यान्सर जीवनशैलीमा हुने यस्ता गल्तीहरूसँग सम्बन्धित हुन सक्छन् जुन नियन्त्रण गर्न सकिन्छ । जुन यस प्रकार रहेका छन् :
खराब आहार: आहारमा प्रशोधित र रातो मासुको मात्रा उच्च हुनु तर फाइबर, फलफूल र तरकारीहरूको कमी हुनु ठुलो आन्द्राको क्यान्सरको जोखिमसँग सम्बन्धित छ । विश्व अनुसन्धान कोषले रातो मासुको खपत सीमित गर्न सिफारिस गर्दछ ।
शारीरिक गतिविधिको अभाव: अधिक तौल हुनु र जीवनशैली सक्रिय नहुनुले पनि ठुलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ । दैनिक शारीरिक गतिविधि र ३० देखि ६० मिनेटको पैदल यात्राले आन्द्राको स्वास्थ्य राम्रो कायम राख्न सक्छ ।
धूम्रपान र मदिरा: लामो समयसम्म धूम्रपान र अत्यधिक मदिरा सेवनले पनि ठुलो आन्द्राको क्यान्सरको जोखिम बढाउन सक्छ ।
आन्द्राको क्यान्सर/जोखिम कारकहरू:
उमेर: कोलोरेक्टल क्यान्सर सामान्यतया ५० वर्षभन्दा माथिका मानिसहरूमा बढी देखिने गरेको छ । तर वयस्कहरूमा पनि यो रोग बढेको छ ।
पारिवारिक इतिहास: परिवारमा कसैलाई ठुलो आन्द्राको क्यान्सर छ वा आन्द्रामा फोका उठ्ने समस्या भएका व्यक्तिमा पनि यो रोगको जोखिम बढाउन सक्छ ।
आन्द्रा सुन्निने पुरानो रोग: लामो समयसम्म ठुलो आन्द्रा सुन्निने रोगबाट ग्रसित व्यक्तिलाई पनि ठुलो आन्द्राको क्यान्सर हुने जोखिम बढाउँछ ।
कोलोरेक्टल क्यान्सरका लक्षणहरू के हुन् ?
लामो समयसम्म कब्जियत, वा लगातार पखाला लाग्ने ।
दिसामा रगत देखिन सक्छ ।
पेट दुखिरहन्छ ।
बिना कारण तौल घट्न थाल्नु ।
शरीरमा कमजोरी रहने वा शरीरमा फलामको स्तर कम हुनु ।
