• Monday 5th of October 2026

गगनले केन्द्रीय सदस्य बनाएका ४ नेता शेखरको बैठकमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक विवाद समाधानका विषयमा मंगलबार गरेको छलफलमा सभापति गगन थापाले मनोनीत गरेका केन्द्रीय सदस्यहरू पनि सहभागी भएका छन्।

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले केन्द्रीय सदस्य बनाएका सुजाता कोइराला, जीवन परियार, डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला शेखर कोइरालाले बोलाएको आफू पक्षीय नेताहरूको भेलामा सहभागी भएका हुन्।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा चार केन्द्रीय सदस्य सहभागी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पठाएको सहभागीहरूको सूचीमा उल्लेख छ । पार्टीभित्रको आन्तरिक समस्या र संगठनलाई एकढिक्का बनाउने विषयमा डा. कोइरालाले छलफल गरेका थिए ।

छलफलमा प्रतिनिधि सभाका संघीय सांसदहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेतीको सहभागिता थियो। त्यसैगरी, राष्ट्रिय सभा सदस्यहरू बासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्ण लगायतका नेताहरू पनि बैठकमा पुगेका थिए।

पार्टीभित्र बढ्दै गएको आन्तरिक विवाद सुल्झाउन कोइरालाले पछिल्लो समय सक्रियता बढाएका छन्। उनले यसअघि भदौ १४ गते डा. शशांक कोइराला र भदौ १५ गते शेरबहादुर देउवालाई भेटेर पार्टीको समस्या समाधानका बारेमा कुराकानी गरेका थिए।

आफ्नो पक्षका नेताहरूसँगको परामर्शपछि कोइरालाले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी कार्यदिशाबारे थप रणनीति बनाउने सहभागी नेताहरूले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖