• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

चीनमा कार्गो जहाजमा आगलागी: कम्तीमा २० जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

 

चिनियाँ सरकारी प्रसारण संस्था ‘सीसीटीभी’ का अनुसार जहाजमा सवार कुल ४२ जनामध्ये १७ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। उद्धार गरिएकामध्ये ५ जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको छ।

 

घटनालगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले खोज तथा उद्धारका लागि “पूर्ण क्षमताका साथ” खटिन निर्देशन दिएका छन्। त्यसैगरी प्रधानमन्त्री ली छियाङले फसेका व्यक्तिहरूको शीघ्र उद्धारमा जोड दिँदै थप दुर्घटना  हुन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

 

स्थानीय समयअनुसार बिहान करिब ११:१५ बजे (जीएमटी ०३:१५ बजे) छिङदाओ सहरको एक शिपयार्डमा मर्मतसम्भार भइरहेको बेला उक्त जहाजमा आगलागी भएको थियो। लगभग तीन घण्टाभन्दा बढीको प्रयासपछि आगो नियन्त्रणमा लिइएको सीसीटीभीले जनाएको छ। 

 

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरू अनुसार आगलागी भएको जहाज ‘ओसन मेलोडी’ हो। ‘मरिन ट्राफिक’ नामक जहाज ट्र्याकिङ वेबसाइटका अनुसार लाइबेरियाको झण्डावाहक १९० मिटर (६२३ फिट) लामो यो जहाज गत अगस्ट ३१ मा छिङदाओ आइपुगेको थियो।

 

चीनको दक्षिण-पूर्वी प्रान्त फुजियानस्थित एक जहाज निर्माण केन्द्र (शिपयार्ड) मा भएको विस्फोटमा परी एक उद्धारकर्मीको मृत्यु र अन्य १२ जना घाइते भएको घटनाको करिब एक महिना नबित्दै यो अर्को ठूलो आगलागीको घटना भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖