काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन र इतर समूहले घोषणा गरेका कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएका छन्।
पार्टी एक नभएसम्म गरिने महाधिवेशनमा सहभागी नहुने र एकताको महाधिवेशनका लागि देशभर अभियान सञ्चालन गर्ने उनको भनाइ छ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार पछिल्लो समय भेट्न आउने नेता–कार्यकर्तालाई कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्न आफूले निरन्तर प्रयास गर्ने बताउँदै आएका छन्।
‘उहाँ पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी हुनुहुन्न,’ थपलियाले भने, ‘पार्टी एकताका लागि देशभर अभियान चलाउनुहुन्छ।’
कोइरालाले कांग्रेस विभाजित अवस्थामा महाधिवेशनमा जानु आत्मघाती हुने धारणा राखेका छन्। पार्टीभित्रको विवाद अदालतमा समेत विचाराधीन रहेको र कांग्रेस कमजोर अवस्थामा पुगेको भन्दै उनले दुई चिरामा विभाजित भएर महाधिवेशन गर्दा दुवै पक्षले देशको पक्षमा प्रभावकारी भूमिका खेल्न नसक्ने बताएका छन्।
पार्टी फुटाएर वा एक–अर्कालाई निषेध गरेर अघि बढ्नुभन्दा एकताको सन्देश लिएर जनतामाझ जानुपर्ने उनको धारणा छ।
‘अहिलेको आवश्यकता फुटेको कांग्रेस होइन, जुटेको कांग्रेस हो,’ थपलियाले कोइरालाको भनाइ उद्धृत गर्दै भने।
कांग्रेसमा संस्थापन र इतर समूहका छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि पार्टीभित्रको विवाद थप चर्किएको छ। यही अवस्थामा कोइरालाले आफू कुनै पनि पक्षको महाधिवेशनमा सहभागी नहुने स्पष्ट पारेका हुन्।
