• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बच्चा जन्माउन प्राेत्साहित गर्दै, नयाँ नयाँ सुबिधाकाे घोषणा


  • धनकुटा खबर
  • .

बेइजिङ, २९ भदौ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले चिनियाँ परिवारहरूमा बच्चा जन्माउने र हुर्काउने क्रममा पर्ने आर्थिक भार कम गर्न तथा प्राथमिक स्वास्थ्य सेवाहरूलाई सुदृढ पार्ने उद्देश्यले नयाँ उपायहरूको घोषणा गरेको छ।

 

घट्दो जन्मदर बढाउने देशको राष्ट्रिय प्रयासको एक हिस्साका रूपमा यी नीतिगत कदमहरू ल्याइएका हुन्।

 

सुलभ र उचित मूल्यको बाल हेरचाह सेवा १५औँ पञ्चवर्षीय योजना अवधिमा स्वास्थ्य सेवामा केन्द्रित रही राज्य परिषद्को सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका निर्देशक लेई हाइचाओले समुदाय र रोजगारदाताहरूलाई बाल हेरचाह सेवा केन्द्रहरू स्थापना गर्न प्रोत्साहन गरिने बताए। यस पहलले स्थानीय बासिन्दाहरूलाई नजिकै, सुविधाजनक र उचित मूल्यमा बाल हेरचाह सेवा प्राप्त गर्न सघाउने छ, जसबाट बच्चा जन्माउने, हुर्काउने र शिक्षासँग सम्बन्धित पारिवारिक खर्च प्रभावकारी रूपमा घट्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा र बाल रोग विशेषज्ञको विस्तार बालबालिकासँग सम्बन्धित स्वास्थ्य सेवालाई अझ सुलभ बनाउन सरकारले ठोस कदम चालेको छ । जसअनुसार गत वर्षको प्रगतिलाई आधार मान्दै यस वर्ष थप १,००० सामुदायिक स्वास्थ्य सेवा केन्द्र र टाउनसिप (स्थानीय तह) स्वास्थ्य केन्द्रहरूमा बाल चिकित्सा सेवा थपिनेछ।  यस वर्षको अन्त्यसम्ममा ९५ प्रतिशतभन्दा बढी टाउनसिप तथा सामुदायिक स्वास्थ्य सेवा केन्द्रहरूले बाल चिकित्सा सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्राथमिक तहका स्वास्थ्य संस्थाहरूमा ३,१०० भन्दा बढी बाल रोग विशेषज्ञहरू खटाइ सकिएको छ।

 

साथै, ‘जन्म-मैत्री समाज’ र कानुन निर्माण चीनको १५औँ पञ्चवर्षीय योजनाले “जन्म-मैत्री समाज” निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेको छ। योजनाको खाकामा जन्मदर बढाउन प्रोत्साहन दिने तथा चाइल्ड केयर र शिक्षाको लागत घटाउने रणनीतिहरू समावेश छन्।

यसै क्रममा, स्वास्थ्य अधिकारीहरूले बाल हेरचाह सेवासम्बन्धी कानुनको मस्यौदा तयार पारिसकेका छन् र उक्त मस्यौदा हाल राष्ट्रिय जन-कांग्रेस मा छलफलको प्रक्रियामा प्रवेश गरिसकेको जानकारी निर्देशक लेईले दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖