नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित विशेष अदालतले सन् २०१३ मा २७ जनाको ज्यान जाने गरी भएको झीरम घाटी आक्रमणमा दोषी ठहर भएका १० जना माओवादीलाई मृत्युदण्डको सजाय सुनाएको छ।
जगदलपुरस्थित राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) विशेष अदालतले झीरम घाटी आक्रमणमा संलग्न रहेको अभियोगमा १० जनालाई आपराधिक षड्यन्त्र तथा हत्या लगायतका कसुरमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। एनआईएको आधिकारिक अभिलेखमा पनि घटनामा २७ जनाको मृत्यु र ३८ जना घाइते भएको उल्लेख छ।
२५ मे २०१३ मा छत्तीसगढको बस्तरस्थित झीरम घाटीमा भारतीय कांग्रेसको ‘परिवर्तन यात्रा’माथि माओवादीले आक्रमण गरेको थियो। एनआईएका अनुसार आक्रमणमा कांग्रेसका नेतासहित २७ जनाको मृत्यु भएको थियो। आक्रमणकारीले बन्दुक तथा विस्फोटक प्रयोग गरेका थिए।
एनआईएको अनुसन्धानअनुसार घटनामा संलग्न १० जनाले कांग्रेसका वरिष्ठ नेता तथा सुरक्षाकर्मीमाथि आक्रमण र हत्या गर्ने आपराधिक षड्यन्त्रमा भूमिका खेलेका थिए। उनीहरूलाई विभिन्न कानुनी प्रावधानअन्तर्गत दोषी ठहर गरिएको हो।
झीरम घाटी आक्रमण भारतमा माओवादी हिंसासँग सम्बन्धित चर्चित घटनामध्ये एक हो। घटनाको अनुसन्धान एनआईएले सन् २०१३ मै आफ्नो जिम्मामा लिएको थियो र त्यसपछि अभियोगपत्र तथा पूरक अभियोगपत्र दायर गरिएको थियो।
मृत्युदण्डको फैसला उच्च अदालतको न्यायिक प्रक्रियाबाट समेत अघि बढ्नेछ।
