काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै खोजी, उद्धार र राहत वितरणलाई तीव्रता दिन आग्रह गरेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको बैठकपछि प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतको कामसँगै अब पुनर्स्थापना र पुनर्निर्माणको चरण सुरु हुन लागेको जानकारी दिए। प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी हुन नदिन तथा सहयोगलाई प्रभावकारी बनाउन पार्टीले सरकारलाई आग्रह गरेको उनले बताए।
रास्वपाले बेपत्ता व्यक्तिको शव पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षण छिटो गर्न र कानुनी समस्या भए आवश्यक संशोधन गरेर भए पनि मृत्यु प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ। परिवारको सहमतिमा राहत, पुनर्निर्माण र पुनर्स्थापनाका काममा सरकारले सहजीकरण गर्नुपर्ने पार्टीको भनाइ छ।
बैठकमा मधेस प्रदेश अधिवेशनका आन्तरिक समस्याबारे पनि छलफल भएको छ। त्यस्तै, केही विभाग र अनुशासन आयोगमा सदस्य मनोनयन तथा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको समीक्षा गरिएको प्रवक्ता खरेलले जानकारी दिए।
बाढीपछि स्थगित भएका पार्टीका औपचारिक तथा नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
