• Sunday 4th of October 2026

राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्रको तुलना गर्दै रास्वपा सांसद खत्रीले भने : दूरदर्शी नेता


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्र शाहको तुलना गर्दै राजा महेन्द्र अनुकरणीय व्यक्ति र दूरदर्शी नेता भएको बताएका छन्।

सामाजिक सञ्जालमा खत्रीले यस्तो बताएका हुन्। उनले माओ, लेनिन र स्टालिनको पथभन्दा महेन्द्र पथ हजारौँ गुणा राम्रो भएको दाबी गरेका छन्। महेन्द्र पथ नेपाली माटो, नेपाली भावना र राष्ट्रियताको पथ भएको उनको भनाइ छ।

‘संजाल फिवर: फोटो तुलना! किन राजा महेन्द्र अनुकरणीय व्यक्ति होइन र? पक्का हो। माओ, लेनिन, स्टालिन पथभन्दा महेन्द्र पथ हजारौं गुणा राम्रो। महेन्द्र पथ नेपाली माटोको पथ हो, नेपाली भावनाको पथ हो, राष्ट्रियताको पथ हो,’ उनले भनेका छन्।

खत्रीले विगतका विभिन्न सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै २० वर्षमा एउटा उद्योग र जलन अस्पताल बनाउन नसकेको, बुढीगण्डकी बेचेको, वाइडबडी तथा टेरामक्समा घोटाला गरेको र नक्कली लडाकुका नाममा २१ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन्।

उनले नक्कली शरणार्थी र गिरीबन्धु प्रकरणको समेत उल्लेख गरेका छन्। ‘२० वर्षमा एउटा उद्योग बनाउन नसक्ने को? एउटा जलन अस्पताल बनाउन नसक्ने को? के महेन्द्रले बुढीगण्डकी बेचेका हुन्? के महेन्द्रले वाइडबडी र टेरामक्समा घोटाला गरेका हुन्? के महेन्द्रले नक्कली लडाकुको नाममा २१ अर्ब हजम हरेका हुन्? के महेन्द्रले नक्कली शरणार्थी र गिरीबन्धु काण्ड घटाएका हुन्?’ उनले प्रश्न गरे।

राजा महेन्द्र राजा मात्र नभई दूरदर्शी नेता पनि भएको दाबी गर्दै खत्रीले उनलाई अनुकरणीय नेता, राष्ट्रिय रक्षक, राष्ट्रिय अभिभावक तथा राष्ट्रिय विकासको जग निर्माता भनेका छन्।

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता र राजा महेन्द्रलाई राष्ट्रिय रक्षकका रूपमा चित्रण गर्दै उनले नेपाली हुनुका कारण महेन्द्रप्रति विशेष आत्मीयता रहेको बताए। उनले देशमा नाम र काम परिवर्तन आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।

‘वास्तवमा महेन्द्र राजा मात्र थिएनन् दूरदर्शी नेता पनि थिए। महेन्द्र अनुकरणीय नेता हुन्। पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् भने राजा महेन्द्र राष्ट्रिय रक्षक, राष्ट्रिय अभिभावक, राष्ट्रिय विकासको जग निर्माता हुन्,’ उनले लेखेका छन्, ‘हो माओ, लेलिन, माक्सप्रति सम्मान छ तर त्योभन्दा पनि नेपाली हुनुले हामीलाई महेन्द्र प्यारो छ। उनी हाम्रा देशका हुन्। त्यसैले नाम र काम परिवर्तन आवश्यक छ।’-नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖