काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्दैछन् । तर, यसपटक उनको विदेश भ्रमणको सुरुवात विगतका प्रधानमन्त्रीहरूको भन्दा फरक हुने भएको छ ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ कार्यक्रम गरिने छैन । उनलाई बिदाइ गर्न मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, राजनीतिक दलका नेता तथा विदेशी कूटनीतिक प्रतिनिधिलाई समेत विमानस्थलमा बोलाइएको छैन ।
यसपटक नेपाली सेनाबाट गार्ड अफ अनर दिइने छैन, रेड कार्पेट बिछ्याइने छैन र औपचारिक बिदाइ समारोह पनि हुने छैन । प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङ गरिएको स्थानसम्म जाने तयारी छ । कूटनीतिक नियोगका प्रमुखहरूको समूह, डिन अफ द डिप्लोम्याटिक कोर्प्स तथा नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई समेत बिदाइका लागि निमन्त्रणा नगरिएको अधिकारीहरूले बताएका छन् ।
‘देश शोकमा छ, तामझाम चाहिँदैन’
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा ठूलो औपचारिकता र तामझाम नगर्ने प्रधानमन्त्री शाहको चाहना हो ।
एक अधिकारीका अनुसार यो निर्णय अन्तर्राष्ट्रिय अभ्याससँग जोडिएको पनि हुन सक्छ । धेरै मुलुकमा प्रधानमन्त्री वा राष्ट्रप्रमुख विदेश जाँदा विमानस्थलमा यस प्रकारको औपचारिक बिदाइ समारोह आयोजना गर्ने प्रचलन नरहेको भन्दै शाहले नेपालमा रहेको पुरानो परम्पराबाट अलग हुन खोजेको देखिएको अधिकारीको भनाइ छ ।
भोटेकोशी विपत्तिपछि न्युयोर्क जाने निर्णय
भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले महासभामा सहभागी हुने आफ्नो पूर्वनिर्धारित कार्यक्रम रद्द गर्ने कि न्युयोर्क जाने भन्नेबारे छलफल गरेका थिए । अन्ततः उनले आफैं महासभामा सहभागी भएर अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको विपत्ति र जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउने निर्णय गरेका हुन् ।
अगस्ट २६ मा आएको भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । पछिल्लो उपलब्ध विवरणअनुसार १ हजार ४३६ जनाको शव फेला परिसकेको छ भने ४ हजार ६५५ जना अझै बेपत्ता छन् ।
महासभामा जलवायु न्यायको मुद्दा
न्युयोर्कमा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । उनको सम्बोधनमा भोटेकोशी बाढी, जलवायु परिवर्तन, जलवायु न्याय र हिमाली मुलुकले भोगिरहेको जोखिम प्रमुख विषय रहनेछन् ।
शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । महासभाका क्रममा विभिन्न राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखबाट द्विपक्षीय भेटका लागि अनुरोध आए पनि यसपटक शाहले अन्य द्विपक्षीय भेटवार्ता नराख्ने अधिकारीहरूले बताएका छन् ।
यसबीच परराष्ट्रमन्त्री शिशिर खनाल भने न्युयोर्क पुगिसकेका छन् र विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरिरहेका छन् । उनले भोटेकोशी विपत्तिपछि नेपालको जलवायु न्याय र पुनर्निर्माणका विषयमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
प्रधानमन्त्री शाह मंगलबार कतार एयरवेजमार्फत दोहा हुँदै न्युयोर्क जानेछन् र सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम छ । यो प्रधानमन्त्री बनेपछि उनको पहिलो विदेश भ्रमण हो ।
