नयाँ दिल्ली । २५ वर्षकी नायिका र ४१ वर्षका नायक अभिनीत एक चलचित्रले मलयालम सिनेमा क्षेत्रमा नयाँ इतिहास रचेको छ।
रु २५ करोड भारतीय रुपैयाँको बजेटमा बनेको रोमान्टिक कमेडी चलचित्र ‘बेथलहम कुडुम्बा युनिट’ले विश्वभरको बक्स अफिसमा करिब ३२६ करोड भारु सङ्कलन गरेको छ।
४१ वर्षीय निविन पोलि र २५ वर्षीया ममिथा बैजु अभिनीत यो चलचित्र हालसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम चलचित्र बनेको हो। यसअघि यो कीर्तिमान करिब ३०२ करोड भारुको लाइफटाइम कलेक्सन गरेको चलचित्र ‘लोका च्याप्टर वन: चन्द्रा’को नाममा थियो।
गिरिश एडिको निर्देशनमा बनेको यस चलचित्रका सह-निर्माता फहद फासिल, दिलिश पोथन र श्याम पुष्करन हुन्। गत सन् २०२६ अगस्ट २१ मा ओणमको अवसर पारेर प्रदर्शनमा आएको यो चलचित्रले प्रदर्शनको ३३ दिन बितिसक्दा पनि दर्शकको मन जितिरहेको छ। करुकुट्टीकी एस्ले र उनीभन्दा उमेरले जेठा छिमेकी जस्टिनबिचको सम्बन्धमा केन्द्रित यस चलचित्रको प्रेमकथा, हास्य र पारिवारिक वातावरणलाई दर्शकले निकै रुचाएका छन्।
स्याकनिल्कका अनुसार चलचित्रले भारतमा करिब १८५ करोड भारु ग्रस र वैदेशिक बजारमा करिब १३७ करोड भारु कमाएको छ। केरला राज्यमा यो हालसम्मकै सबैभन्दा ठुलो मलयालम हिट बनेको छ।
सकारात्मक प्रतिक्रिया र पारिवारिक दर्शकका कारण चलचित्रले यो सफलता पाएको हो। अभिनेता निविन पोलिका लागि पनि यो करियरकै सबैभन्दा ठुलो सफलता हो। उनी मोहनलालपछि २०० करोड भारु र ३०० करोड भारुको क्लबमा प्रवेश गर्ने एक्लो सोलो अभिनेता बनेका छन्।
निर्माता फहद फासिलले चलचित्रको सफलताको श्रेय इमानदार पटकथा, उपयुक्त प्रदर्शन समय र दर्शकसँग जोडिन सक्ने प्रस्तुत शैलीलाई दिएका छन्। थोरै बजेटमा ठुला र गुणस्तरीय चलचित्र निर्माण गर्नु मलयालम चलचित्र उद्योगको पहिचान रहँदै आएको छ।
‘लोका’, ‘एल२’ र ‘थुडरम’ जस्ता चलचित्रहरूलाई पछि पार्दै ‘बेथलहम कुडुम्बा युनिट’ले राम्रो कथा र जीवन्त अभिनय नै सफलताको मुख्य आधार हो भन्ने पुष्टि गरेको छ। सिनेमाघरहरूमा चलचित्रको प्रदर्शन अझै जारी रहेकाले यसले चाँडै ३५० करोडको आँकडासमेत पार गर्ने अनुमान गरिएको छ।
