काठमाडौं । संसद् बैठकमा सांसदहरूको उपस्थिति कम हुन थालेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई बैठकको सुरुदेखि अन्तिमसम्म उपस्थित हुन निर्देशन दिएको छ।
संसदीय दलले संसद्मा सांसदहरूको उपस्थितिलाई थप व्यवस्थित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको हो।
रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै सांसदहरूको नियमित र पूर्ण उपस्थिति सधैँ अपेक्षित रहेको बताएका छन्। यद्यपि व्यावहारिक परिस्थितिलाई ध्यानमा राख्दै संसद्को छलफललाई थप प्रभावकारी बनाउन शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको उनले जनाएका छन्।
निर्धारित तालिकाअनुसार :
असोज ८ गते : समूह ३, समूह ४ र समूह १
असोज १२ गते : समूह १ र समूह २
असोज १३ गते : समूह २ र समूह ३
असोज १४ गते : समूह ३ र समूह ४
असोज १५ गते : समूह ४ र समूह १
असोज १६ गते : समूह १ र समूह २
उक्त तालिकामा तोकिएका समूहका सांसदलाई सम्बन्धित दिन अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।
रास्वपाले अन्य समूहका सांसदलाई भने संसद् बैठकमा उपस्थित हुन अनिवार्य छैन भन्ने अर्थ नलिनसमेत स्पष्ट पारेको छ। विशेष अवस्था बाहेक संसद् बैठक सबै सांसदका लागि बाध्यकारी हुनुपर्ने संसदीय दलको निर्देशनमा उल्लेख छ।
बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा खाने समय पनि सांसदहरूले आलोपालो मिलाउनुपर्ने निर्देशन दिइएको छ।
त्यसैगरी कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेस हुने समयमा तोकिएका सबै सदस्यको अनिवार्य उपस्थिति हुनुपर्ने रास्वपा संसदीय दलले जनाएको छ।
