• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

भारतको तट आइपुग्यो ‘अर्नब’ चक्रवात : आन्ध्र प्रदेश र ओडिसामा भारी वर्षा, हजारौँ विस्थापित


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ।

भारतीय मौसम विभागका अनुसार चक्रवात पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढेको थियो। यो सेप्टेम्बर २३ राति ११ बजेदेखि सेप्टेम्बर २४ राति १ बजेको बीचमा कलिंगपट्टनमको दक्षिण–पश्चिमी तट पार गरेको जनाइएको छ।

चक्रवातको प्रभावका कारण आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षासँगै प्रतिघण्टा ७५ किलोमिटरसम्मको गतिमा हावाहुरी चलेको छ। विजयवाडामा बिहानैदेखि निरन्तर वर्षा हुँदा होचा भूभाग जलमग्न भएका छन्। जोखिमका कारण धेरै विद्यालयमा लगातार दोस्रो दिन पनि बिदा दिइएको छ।

ओडिशामा पनि चक्रवातको प्रभाव देखिएको छ। करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। मलकानगिरीमा भारी वर्षाका कारण केही पुल बग्नुका साथै पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको बताइएको छ।

ओडिशाका कम्तीमा सात जिल्लामा विद्यालय बन्द गरिएको छ भने सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ। राहत तथा उद्धारको तयारीलाई तीव्र बनाउन ११ जिल्लाका कलेक्टरलाई निर्देशन दिइएको छ।

यसैबीच पश्चिम बंगालका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा पहिरोको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖