न्युयोर्क । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा नेपालको समेत नाम लिएका छन् । यद्यपि, उनले नाम लिनुको कारण भने भदौ दशको बाढीको विपद् भने होइन । रुसले सेनामा प्रयोग गरिरहेको नेपाली नागरिकको विषय उनले महासभामा उठाएका हुन् ।
उनले नेपाललाई पनि जोड्दै रुसले विभिन्न देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् । बुधबार न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले नेपालसहित ४७ देशका नागरिक रुसी सेनासँग जोडिएको बताएका हुन् । सँगसँगै उनले यी देशका सरकारलाई आफ्ना नागरिकलाई युद्धको मैदानमा पुग्नबाट रोक्न आग्रह गरे ।
जेलेन्स्कीले आफ्नो सम्बोधनमा भने, ‘हामीलाई थाहा छ, रुसले आफ्नो युद्धमा ४७ देशका नागरिक प्रयोग गरिरहेको छ । घाना, नेपाल, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान, दक्षिण अफ्रिका र अन्य धेरै ।’ यसरी उनले उच्चारण गरेका देशमध्ये दोस्रो नम्बरमै नेपालको नाम लिएका हुन् ।
त्यसपछि उनले ती ४७ देशका प्रतिनिधिलाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्ना नागरिकको सुरक्षा गर्न आग्रह गरे, ‘आफ्ना मानिस र आफ्ना नागरिकको ख्याल गर्नुहोस् । उनीहरूलाई अर्को मोर्चामा पुग्न नदिनुहोस् । पुटिनलाई तपाईँहरूलाई पनि यो युद्धमा तान्न नदिनुहोस्,’ जेलेन्स्कीले भने ।
नेपालबारे जेलेन्स्कीको दाबी के हो ?
जेलेन्स्कीले नेपालबाट कति नागरिक रुसी सेनामा पुगेका छन् भन्ने संख्या भने खुलाएनन् । उनले नेपाललाई भारत, घाना, ताजिकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशसँगै सूचीमा राखेका हुन् ।
उनका अनुसार युक्रेनले युद्धका क्रममा विभिन्न देशका नागरिकलाई युद्धबन्दीका रूपमा समेत फेला पारेको छ । उनले केही विदेशी नागरिकहरू ‘छल र प्रलोभन’ मार्फत रुस पुगेको दाबी गरे । जेलेन्स्कीले भने, ‘हामी युद्धको मैदानमा गैररुसी नागरिकहरू मरिरहेको पनि देख्छौँ । उनीहरू तपाईंहरूका देशका मानिस हुन्, ४७ देशका नागरिक हुन्, जो छल र प्रलोभनमार्फत रुस पुगेका छन् ।’
यद्यपि, उनको सम्बोधनमा नेपालबाट रुसी सेनामा कति व्यक्ति भर्ती भएका छन्, उनीहरू कुन प्रक्रियाबाट रुस पुगे वा उनीहरूमध्ये कति युद्धमा मारिए भन्ने विवरण दिइएको छैन ।
