• Tuesday 6th of October 2026

एक ८७ वर्षीया वृद्धाका कारण अन्ततः स्पेनमा हुने भयाे मध्यावधि निर्वाचन


  • धनकुटा खबर
  • .

काठमाडौँ, २० असोज। आवाससम्बन्धी संकट समाधान गर्ने उद्देश्यले ल्याइएका कानुनहरू पारित हुन नसकेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी २९ नोभेम्बरका लागि मध्यावधि निर्वाचनको घोषणा गरेका छन्।

 

भाडामा बस्नेहरूको सुरक्षाका लागि अल्पमतको सरकारले ल्याएका दुईवटा अध्यादेशलाई संसद्ले अस्वीकार गरेपछि सातान्तदेखि नै आकस्मिक निर्वाचनको चर्चा चल्न थालेको थियो।   

 

भाडामा भएको भारी वृद्धिको भार धान्न नसकेपछि ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएको घटनाले देशभर विरोध प्रदर्शन निम्त्याएको छ र आवाससम्बन्धी सुधारका लागि दबाब बढाएको छ।   सोमबार टेलिभिजनमार्फत सम्बोधन गर्दै सान्चेजले सुधारका कार्यक्रमहरू अघि बढाउन आफूलाई “व्यापक प्रगतिशील बहुमत” को आवश्यकता रहेको बताए, जसले “उच्च वर्ग (एलिट्स) को अवरोधलाई चिर्न” सकोस्।   

 

हालैका महिनाहरूमा सान्चेजको नेतृत्वका लागि आवासको मुद्दा मात्र समस्याको विषय बनेको छैन; उनको पार्टी विभिन्न भ्रष्टाचार काण्डहरूमा मुछिएको छ भने जीवनयापनको बढ्दो लागत र आप्रवासनजस्ता अन्य मुद्दाहरूमा पनि दबाबको सामना गरिरहेको छ।  “हामीबाट गल्तीहरू भएका छन् र हामीले तय गरेका सबै लक्ष्यहरू हासिल गर्न सकेका छैनौँ,” सान्चेजले भने, “विशेष गरी असमानता, सार्वजनिक सेवा र आवासको पहुँचका क्षेत्रमा अझै धेरै समस्याहरू समाधान गर्न बाँकी रहेको” स्वीकार गरे।   

 

सान्चेजको वामपन्थी गठबन्धन सरकार उनको सत्तारूढ सोसलिस्ट पार्टी र साझेदार दल ‘सुमार’ गठबन्धन मिलेर बनेको छ, र संसद्मा यसको बहुमत छैन। स्पेनमा सन् २०२७ को गर्मीयामभन्दा अघि आम निर्वाचन हुने कार्यक्रम थिएन। सान्चेज सन् २०१८ को जुनदेखि प्रधानमन्त्री छन्। सन् २०२३ मा भएको पछिल्लो निर्वाचनमा उनको समाजवादी पार्टी दोस्रो स्थानमा आएको थियो। यद्यपि कन्जरभेटिभ ‘पिपुल्स पार्टी’ले सबैभन्दा बढी सिट जितेको थियो, तर उसले बहुमत भने प्राप्त गर्न सकेन।

 

वामपन्थी दलहरूसँग सम्झौता गरेर तथा क्याटालन र बास्क राष्ट्रवादी एवं स्वतन्त्रता-समर्थक समूहहरूको समर्थन जुटाएर सान्चेज सत्तामा कायम गरेका थिए । अधिकांश जनमत सर्वेक्षणहरूले आगामी निर्वाचनमा कन्जरभेटिभहरू सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखाउँछन्। यद्यपि, सरकार गठन गर्न उनीहरूलाई अति-दक्षिणपन्थी ‘भक्स’ पार्टीको समर्थन आवश्यक पर्ने अपेक्षा गरिएको छ।

 

सोमबारको घोषणापछि बोल्दै पिपुल्स पार्टीका नेता अल्बर्टो नुनेज फेइजोले भने, “अन्ततः स्पेनका जनताले निर्णय गर्न पाउनेछन्।” विपक्षी नेताले यो “अन्य सामान्य निर्वाचनजस्तै” नभई मतदाताहरूका लागि “पतन वा परिवर्तन, झूट वा परिवर्तन, अक्षमता वा परिवर्तन, विभाजन वा परिवर्तन, अनि भ्रष्टाचार वा परिवर्तन” मध्ये कुनै एक रोज्ने अवसर हुने बताए। शनिबार, म्याड्रिड, भ्यालेन्सिया र बार्सिलोनालगायतका सहरहरूमा हजारौँ मानिसहरूले भाडामा बस्नेहरूको अधिकारको अझ राम्रो सुरक्षाको माग गर्दै सडक प्रदर्शन गरेका थिए ।

 

८७ वर्षीया मारिकार्मेन अबास्काल स्पेनको आवास संकटको एउटा प्रतीक बनिन्, जब २३ सेप्टेम्बरमा उनलाई म्याड्रिडस्थित उनको घरबाट जबरजस्ती निकालियो। कानुनी प्रावधानको एउटा छिद्रका कारण घरधनीले उनको घरभाडा ५०० युरो (४२८ पाउन्ड; ५७२ डलर) बाट बढाएर २,६५० युरो पुर्‍याउन पाए। पछि यसलाई घटाएर १,६५० युरो कायम गरियो, न रकम उनको मासिक पेन्सनभन्दा अझै पनि ३०० युरोले बढी थियो।

 

७० वर्षभन्दा बढी समयदेखि बस्दै आएको उनको अपार्टमेन्टबाट उनलाई स्ट्रेचरमा राखेर बाहिर निकालियो र पछि अस्पताल भर्ना गरियो। उनका वकिलले उनी आफ्नो घर फर्कन सक्ने बताएका छन्, तर यस घटनाले आवासको विषयलाई लिएर व्यापक आक्रोश निम्त्याएको छ। विरोध प्रदर्शनलाई मत्थर पार्ने प्रयासस्वरूप वामपन्थी गठबन्धन सरकारले दुईवटा आदेश (डिक्री) मार्फत कदम चाल्यो।

 

पहिलो आदेशमा सन् २०३० सम्मका लागि जोखिममा रहेका भाडावालहरूलाई घरबाट निकाल्ने कार्य रोक्ने, सन् २०२८ अघि म्याद सकिने घरभाडा सम्झौताको अवधि दुई वर्ष थप गर्ने, पर्यटक लक्षित अपार्टमेन्टमा कर वृद्धि गर्ने तथा सरकारले ‘भल्चर फन्ड’ भनेर परिभाषित गरेका संस्थाहरूद्वारा आवासीय सम्पत्ति खरिदमा रोक लगाउनेजस्ता प्रावधानहरू समावेश थिए।

 

दोस्रो आदेश बढी विवादास्पद थियो, किनभने यसमा भाडा सम्झौताहरूको स्वतः नवीकरणको व्यवस्था समावेश थियो। यो वामपन्थी खेमाका धेरै मानिसहरू तथा भाडामा बस्नेहरूको संगठन ‘सिन्डिकाटो डे इन्क्विलिनास’को प्रमुख माग थियो।

 

तर, राजनीतिक दक्षिणपन्थीहरूले तर्क गरे कि आवास बजारमा हस्तक्षेप गर्ने सरकारको प्रयासले भाडामा उपलब्ध घरहरूको संख्या घटाउने र मूल्य अझ बढाउने थियो। पिपुल्स पार्टीका जुआन ब्राभोले गत हप्ता भनेका थिए, “आदेश जारी गरेर आवास सस्तो हुँदैन, बरु धेरै घरहरू निर्माण भएपछि मात्र यो सस्तो हुन्छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖