नयाँदिल्ली । बलिउड चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो ।
स्पष्टवक्ता र सादा जीवनशैलीका लागि परिचित पाटेकरका पुराना अन्तर्वार्ता अहिले फेरि चर्चामा आएका छन् । सन् २०२३ मा दिएको एउटा अन्तर्वार्तामा उनले मृत्यु, जीवन र सम्पत्तिबारे व्यक्त गरेका विचारले धेरैको ध्यान खिचेका थिए ।
‘मलाई थाहा छ, एक दिन म मर्नुपर्छ । मृत्युमा मेरो विश्वास छ,’ उनले भनेका थिए, ‘त्यसैले यी कुरामा मलाई खासै रुचि छैन । आफू कहिल्यै मर्दिनँ भन्ने सोच्नेहरू सम्पत्ति जम्मा गरिरहन्छन् ।’
सन् २०२३ मा उनको फिल्म ‘द भ्याक्सिन वार’ प्रदर्शनमा आएको थियो । त्यसै समय आसपास दिएको अन्तर्वार्तामा उनलाई चलचित्र क्षेत्रमा लामो समय काम गर्दा पनि आफूमा किन देखावटीपन र ग्ल्यामरको प्रभाव नपरेको भन्ने प्रश्न गरिएको थियो ।
जवाफमा उनले आफ्नो स्वभावअनुसार सीधा कुरा गरेका थिए । ‘मलाई थाहा छ, एक दिन जानैपर्छ । मलाई जलाउन १२ मन काठ चाहिन्छ । त्यही नै मेरो सम्पत्ति हो । म त्यसैसँग जानेछु,’ उनले भनेका थिए ।
पाटेकरले आफ्नो अन्त्येष्टिका लागि सुक्खा काठसमेत राखेको बताएका थिए । उनको भनाइमा, उनले परिवारका सदस्यलाई आफूलाई जलाउँदा सुक्खा काठ नै प्रयोग गर्न भनेका थिए । ‘मैले वास्तवमै सुक्खा काठ राखेको छु । मलाई त्यही काठमा जलाउनु भनेको छु । भिजेको काठ प्रयोग नगर्नू । त्यसबाट धुवाँ निस्कन्छ र साथीभाइ तथा वरपरका मानिसका आँखामा पर्छ,’ उनले भनेका थिए ।
त्यसपछि उनले व्यङ्ग्यात्मक शैलीमा थपेका थिए, ‘धुवाँले उनीहरूको आँखाबाट आँसु आउला । अनि म मर्ने बेलामा उनीहरू मेरो लागि रोइरहेका छन् भन्ने भ्रम पर्न सक्छ । कम्तीमा मर्दासम्म यस्तो भ्रममा पर्नु नपरोस् ।’
उनको यो भनाइले जीवन र मृत्युलाई हेर्ने उनको फरक दृष्टिकोण देखाउँछ । गम्भीर विषयलाई समेत व्यङ्ग्य र ठट्यौलीमार्फत व्यक्त गर्नु पाटेकरको विशेषता मानिन्छ ।
‘मरेपछि मेरो तस्बिर पनि नराख्नु’
पाटेकरले मानिसको मृत्यु भएपछि उसको सम्झना पनि लामो समयसम्म कायम नरहने बताएका थिए । त्यसैले आफू बितेपछि आफ्नो तस्बिर राखेर सम्झिरहन आवश्यक नभएको उनको धारणा थियो ।
‘म यही तरिकाले जीवन बिताउँछु । मलाई लाग्छ, यही सत्य हो । तपाईं मरेपछि कसैले तपाईंलाई सम्झिरहँदैन । दुई–चार दिनपछि सबैले बिर्सन्छन्,’ उनले भनेका थिए ।
उनले आफ्नो परिवार र नजिकका मानिसलाई आफू बितेपछि तस्बिरसमेत नराख्न भनेको बताएका थिए । ‘मैले त मेरी तस्बिर पनि नराख्नु भनेको छु । मलाई पूर्ण रूपमा बिर्सिदिनू,’ उनले भनेका थिए ।
त्यही अन्तर्वार्तामा पाटेकरले आफ्नी आमा र परिवारका सदस्यहरूको सम्झनाबारे पनि बोलेका थिए । उनले आफ्ना दाजुभाइ तथा दिदीबहिनीमध्ये आफू मात्रै बाँकी रहेको बताएका थिए । ‘आज पनि मलाई मेरी आमा जीवितै हुनुहुन्छ जस्तो लाग्छ । मृत्यु भनेको यहाँबाट गएपछि उहाँलाई भेट्न जानु हो,’ उनले भनेका थिए ।
उनका अनुसार उनीहरू सात दाजुभाइ तथा दिदीबहिनी थिए । तीमध्ये छ जनाको मृत्यु भइसकेको थियो र उनी एक्लै बाँकी थिए । ‘आमा, बुबा, दाजुभाइ, दिदीबहिनी कोही पनि यहाँ छैनन् । त्यसैले मलाई यो संसार आफ्नो जस्तो लाग्दैन । मेरा सबै प्रियजन त्यहीँ छन् भन्ने सोचिरहन्छु,’ उनले भनेका थिए ।
