• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा


  • धनकुटा खबर
  • .

सुभाष कायस्थ/जनकपुरधाम, २३ असोज । जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका टिकटकर मोहम्मद इर्साद खानमाथि थप दुईवटा ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको खुलासा भएको छ।

 

टिकटकमा ‘गुण्डा’ नामले चर्चित इर्सादमाथि चलिरहेका दुवै ज्यान मार्ने उद्योगका मुद्दामा उनी धरौटीमा रिहा भई हाल मुद्दा विचाराधीन अवस्थामा रहेको धनुषा प्रहरीको भनाइ छ।

 

धनुषा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालका अनुसार २०८२ फागुन ३ गते उनले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका २६ वर्षीय मोहम्मद मुस्तफा राइन र २०८३ जेठ ७ गते जनकपुरधाम–८ का अल्ताफ राइनमाथि खुकुरी प्रहार गरेका थिए।

 

यी दुवै घटनामा इर्सादमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता रहेको छ भने जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ। प्रवक्ता खनालले भने, “हामीले उनलाई फरार सूचीमा राख्दै खोजी तीव्र पारेका थियौँ। यसैबीच वडा नम्बर ५ मा साफीको हत्या घटनामा पक्राउ गर्न सफल भएका छौँ।”

 

प्रहरीले उनलाई पक्राउ गर्न जाँदा घरपरिवारले भगाइदिने वा प्रहरी आइरहेको सूचना पाउनेबित्तिकै उनी फरार हुने गरेका थिए। तर यसपटक भने स्थानीयको सहयोगमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ।

 

प्रवक्ता खनालका अनुसार मुस्तफामाथि बकर इदकै दिन खुकुरी प्रहार गरी घाइते बनाइएको थियो। मुस्तफाको जाहेरी अनुसार इर्सादले उनलाई घरमा बोलाएर पसलमा लगेका थिए। त्यहाँ घाँटीमा खुकुरी राखेर काट्ने धम्की दिइएको र मुस्तफा भाग्न खोज्दा पछाडिबाट लखेटेर खुकुरी प्रहार गरिएको आरोप छ। त्यस क्रममा मुस्तफाको बायाँ हातमा खुकुरी लागेर उनी घाइते भएका थिए।

 

उक्त घटनापछि मुस्तफाले इर्सादविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए। प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाउँदै जिल्ला अदालतबाट गत असार ३१ गते नै पक्राउ अनुमति पुर्जी लिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयले साउन १८ गते जानकी प्रहरी चौकीलाई पत्राचार गर्दै खोजी तथा पक्राउका लागि आवश्यक पहल गर्न निर्देशन दिएको थियो।

 

तर लामो समयसम्म उनी पक्राउ पर्न सकेनन्। त्यसको केही समयपछि पुनः वडा नम्बर ८ मा अल्ताफमाथि खुकुरी प्रहार गरी अर्को घटना गराए। त्यसमा पनि उनीविरुद्ध जाहेरी परेपछि ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी छ।

 

पुरानो मुद्दामा पक्राउ पर्न नसकेको व्यक्तिबाट पुनः गम्भीर हिंसात्मक घटना भएको आरोप सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान र पक्राउ प्रयासमाथि पनि चासो बढेको छ। बिहीबार साँझ जानकी मन्दिरनजिकै भएको छुरा प्रहारबाट जनकपुरधाम–५ सोनारपट्टीका २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ भने सोही ठाउँका २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्। हाल गम्भीर घाइते इम्तियाजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

 

सामाजिक सञ्जालका ‘गुण्डा’ इर्साद

इर्साद टिकटक र फेसबुकमा सक्रिय रहँदै सामाजिक सञ्जालमा ‘गुण्डा’ र ‘एमडी इर्साद खान’ नामबाट खाता सञ्चालन गर्दै आएका छन्। उनीमाथि सामाजिक सञ्जालमा अर्को समुदायलाई लक्षित गरी घृणा फैलाउने, हिंसालाई प्रोत्साहन गर्ने तथा गालीगलौजयुक्त सामग्री राख्ने गरेको आरोप समेत छ। यस्ता गतिविधिका कारण उनलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग पटक-पटक उठ्दै आएको थियो।

 

यद्यपि सामाजिक सञ्जालमा राखिएका सामग्रीको प्रकृति, त्यसको कानुनी अवस्था र ती सामग्रीसँग पछिल्लो घटनाको सम्बन्धबारे आधिकारिक अनुसन्धानबाट पुष्टि हुन बाँकी छ। स्थानीयवासीका अनुसार इर्साद लागुऔषध सेवनकर्ता समेत हुन्।

 

बिहीबारको घटनापछि प्रहरीले इर्सादकी ४२ वर्षीया आमा सैमुख खातुनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा उनको संलग्नता वा भूमिका के थियो भन्नेबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।

 

एक युवकको ज्यान गएको र अर्का युवक गम्भीर घाइते भएको घटनासहित विचाराधीन रहेका अन्य दुई ज्यान मार्ने उद्योगका मुद्दा, घटनाको कारण, प्रयोग गरिएको हतियार तथा संलग्न व्यक्तिहरूको भूमिकालगायत पक्षमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖