नयाँ दिल्ली । भारतका चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठीलाई दिल्ली प्रहरीले शनिवार बिहान उनको गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिएको छ । दिल्लीको जन्तर मन्तरमा ककरोच जनता पार्टी (सीजेपी) द्वारा आयोजना गर्न लागिएको विरोध प्रदर्शनमा सहभागी हुन जान लाग्दा प्रहरीले उनलाई गुरुग्रामको सेक्टर ५६ स्थित फ्ल्याटबाट पक्राउ गरेको हो ।
निर्वाचन नामावलीमा भएका अनियमितताहरूलाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सीजेपीले दिल्लीमा विरोध प्रदर्शनको आह्वान गरेको थियो । उक्त प्रदर्शनलाई समर्थन गर्दै ध्रुव राठीले शुक्रवार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरी आफू प्रदर्शनमा सहभागी हुने घोषणा गरेका थिए ।
दिल्ली प्रहरीले सुरक्षा संवेदनशीलता र कानुनी प्रक्रियाको कारण देखाउँदै यसअघि नै उक्त प्रदर्शनका लागि अनुमति दिएको थिएन । प्रहरीले राठीलाई प्रदर्शनमा सहभागी नहुन आग्रह गरे पनि उनले अस्वीकार गरेपछि गुरुग्राम प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिई अज्ञात स्थलमा राखिएको बताइएको छ ।
विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । राष्ट्रिय राजधानीलाई सुरक्षा किल्लामा परिणत गर्दै ४०,००० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने जन्तरमन्तर आसपासका क्षेत्रमा धारा १६३ ९निषेधाज्ञा० लागू गरिएको छ ।
सुरक्षाकै कारण दिल्लीका धेरैजसो मेट्रो स्टेशन, रेल सेवा र प्रदर्शन स्थल आसपासका क्षेत्रमा मोबाइल इन्टरनेट सेवा समेत अस्थायी रूपमा बन्द गरिएको छ ।
व्यापक धरपकड
सीजेपीले ध्रुव राठी र अन्य सामाजिक अभियन्ताहरूको नियन्त्रणलाई सरकारको दमनकारी कदम भन्दै भर्त्सना गरेको छ र उनीहरूको तत्काल बिनासर्त रिहाइको माग गरेको छ ।
प्रहरीले प्रदर्शन स्थलतर्फ अघि बढ्न खोज्ने ध्रुव राठीसहित करिब १५० भन्दा बढी प्रदर्शनकारीहरूलाई दिल्लीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकेको जनाएको छ ।
जर्मनीबाट भर्खरै भारत आएका राठी यसअघि ८ अक्टोबरमा बेंगलुरुमा भएको सीजेपीको प्रदर्शनमा पनि सहभागी भएका थिए । सामाजिक सञ्जालमा करोडौँ फलोअर्स भएका राठीको यो नियन्त्रणलाई लिएर इन्टरनेटमा तीव्र विरोध सुरु भएको छ ।
