• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता


  • धनकुटा खबर
  • .

कञ्चनपुर । महाकाली नदीमा झोलुङ्गे पुल बगाउँदा चुँडिएको नेपाल टेलिकमको तार पुन: तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत सहायक प्रहरी निरीक्षक सागरराज थारु रहेका छन् ।सशस्त्र प्रहरीले दिएको विवरणअनुसार, शनिबार दिउँसो १२:१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ महाकाली नदीमा रबर बोटको सहायताले टेलिकमको तार वारपार तान्ने क्रममा घटना भएको हो ।

केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुडिएको थियो। तार चुडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुन: सञ्चालन गर्ने उद्देश्यले नदीमा बगाएको तार रबर बोटको सहायताले वारपार तान्ने काम भइरहेको थियो । सोही क्रममा असई थारुको खुट्टामा तार अल्झिएको र उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनापछि बेपत्ता थारुको खोजी कार्य जारी रहेको छ । उनको अवस्था र खोजी कार्यको पछिल्लो प्रगतिबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖