• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जापानमा श्रीमतीको नाममा घर रहेको प्रस्तावित राजदूत थापाको स्वीकारोक्ति


  • धनकुटा खबर
  • .

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानमा आफ्नी श्रीमतीको स्वामित्वमा घर रहेको स्वीकार गरेका छन्।

बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले जापानमा आफ्नो नाममा कुनै कम्पनी वा सेयर लगानी नरहेको, तर श्रीमतीको नाममा घर रहेको बताएका हुन्।

“जापानमा मेरो नामको कम्पनी छैन । सेयरमा लगानी गरेको छैन । जापानमा मेरो घर छ । ४ आना पनि नभएको ठाउँमा घर । घर श्रीमतीको स्वामित्वमा छ,” उनले भने।

राजदूतमा नियुक्त भएमा आफ्नो पारिवारिक अवस्थालाई जापानको कानुनी व्यवस्थाअनुसार व्यवस्थापन गर्ने उनको भनाइ थियो। नेपाल र जापान दुवै देशको हितमा काम गर्न सक्ने विश्वासका साथ आफू राजदूतका लागि प्रस्तावित भएको उनले बताए।

सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानी स्थायी आवासीय अनुमति (पीआर) तथा पारिवारिक अवस्थाबारे प्रश्न उठाएका थिए। जवाफमा उनले पीआर प्राप्त गर्दैमा नागरिकता समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको दाबी गरे।

“जापानले सात वर्षको पीआर दिने हो। जापानमा रहेका श्रीमती र छोराछोरीको नेपाली नागरिकता छ, पीआर भिसा हो,” उनले भने।

आफू नेपाली पहिचानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै थापाले नेपाली पोसाक ढाकाटोपी लगाउने गरेको समेत बताए। जापानसम्बन्धी आफ्ना धारणा नेपालको हितसँग जोडिएको उनको भनाइ थियो।

सुनुवाइका क्रममा सांसदहरूले सम्बन्धविच्छेद गरेर परिवारबाट अलग बस्ने विषयसमेत उठाएपछि थापाले असन्तुष्टि व्यक्त गरे। आफू परिवार छाडेर बस्न नसक्ने बताउँदै उनले पारिवारिक विषयलाई लिएर गरिएका टिप्पणीले दुःख लागेको बताए।

“म आफ्नो परिवार छाडेर बस्न सक्दिनँ। एकजना माननीयले सम्बन्धविच्छेदको कुरा उठाउनुभयो, दुःख लाग्यो,” उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖