• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हर्मुज क्षेत्रमा दुई मालवाहक जहाज डुबे, जहाजमाथि आक्रमण तीव्र


  • धनकुटा खबर
  • .

काठमाडौँ। स्ट्रेट अफ हर्मुज नजिक क्षेप्यास्त्र प्रहारबाट क्षति पुगेपछि पछिल्लो २४ घण्टामा दुई वटा मालवाहक जहाज डुबेका छन् ।

समुद्री सुरक्षा अधिकारीहरूका अनुसार डुब्ने जहाजमा एउटा कन्टेनर जहाज र अर्को सुख्खा थोक सामाग्री बोक्ने जहाज छन्। पछिल्लो १० दिनमा यस क्षेत्रमा व्यावसायिक जहाजमाथिका आक्रमण तीव्र बनेको छ ।

रोयटर्सका अनुसार सिंगापुरको झन्डा बोकेको ‘जीएफएस प्राइड’ नामक कन्टेनर जहाज स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा क्षतिग्रस्त भएर डुबेको हो। जहाजमा आगलागीसमेत भएको थियो ।

सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जहाजमा रहेका सबै २१ जना चालकदलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ । घटनामा कोही घाइते भएका छैनन् ।

त्यस्तै, एन्टिगुवा र बारबुडाको झन्डा बोकेको ‘केप डाओ’ नामक जहाज पनि स्ट्रेट अफ हर्मुज नजिक डुबेको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ) को तथ्यांकअनुसार उक्त जहाजमा सेप्टेम्बर २३ मा क्षेप्यास्त्र प्रहार भएको थियो । आक्रमणमा चालकदलका एक सदस्यको मृत्यु भएको थियो भने अन्य सदस्यलाई उद्धार गरिएको थियो ।

आईएमओको तथ्यांकअनुसार अमेरिका–इरान युद्ध सुरु भएयता डुबेका जहाजको संख्या तीन पुगेको छ । यसअघि मार्चमा ‘सेफिन प्रेस्टीज’ नामक कन्टेनर जहाजमा आक्रमण भएको थियो र पछि त्यो डुबेको थियो ।

युद्ध सुरु हुनुअघि विश्वव्यापी तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) व्यापारको करिब पाँच भागको एक भाग स्ट्रेट अफ होर्मुज हुँदै ओसारपसार हुन्थ्यो । त्यसैले यस क्षेत्रमा बढेको असुरक्षाले विश्व ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ ।

इरानले आफ्ना बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी र कडा प्रतिबन्धको जवाफमा आक्रमण तीव्र पारेको बताएको छ । दुई वरिष्ठ इरानी अधिकारीका अनुसार तेहरानले जहाजमाथि आक्रमण गर्ने नयाँ रणनीति अपनाइरहेको छ ।

समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिस्क्सका अनुसार खतरा तेल ट्याङ्करमा मात्र सीमित छैन । कन्टेनर र थोक सामान बोक्ने जहाजसमेत गम्भीर आक्रमणको जोखिममा छन् । यसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा थप अनिश्चितता बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖