काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस आर्य) पदमा पराजित भएका नेता जगदीश्वरनरसिंह केसीले इमानदारीपूर्वक कर्मको बाटोमा अघि बढिरहँदा त्यसको वास्तविक मूल्य समयले स्थापित गर्ने बताएका छन् ।
महाधिवेशनमा पराजित भएपछि आफ्ना शुभचिन्तक तथा महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै केसीले मन जोड्ने, सम्बन्ध जोगाउने र नेपाली कांग्रेसलाई अझ सुदृढ बनाउने आफ्नो यात्रा निरन्तर जारी रहने बताएका हुन् ।
उनले पद प्राप्त गर्न नसक्नु निर्वाचनको परिणाम भए पनि साथीभाइको विश्वास र स्नेह आफ्नो जीवनभरको अमूल्य पूँजी भएको उल्लेख गरेका छन् ।
केसीका अनुसार उनको व्यक्तिगत चाहना महामन्त्री पदमा रहे पनि पार्टी नेतृत्वको चाहना, समकालीन राजनीतिक परिस्थिति तथा अग्रज र साथीभाइहरूको आग्रहलाई सम्मान गर्दै अन्तिम चरणमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए । उक्त निर्णय व्यक्तिगत महत्त्वाकाङ्क्षाभन्दा पनि पार्टीभित्रको सहकार्य र सामूहिक भावनालाई सम्मान गर्ने प्रयास भएको उनले स्पष्ट पारेका छन् ।
लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै केसीले सहमहामन्त्री (खस आर्य) पदमा विजयी भएका मनोजमणि आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
निर्वाचनमा पराजित भए पनि पार्टी र साथीभाइसँगको सम्बन्धलाई निरन्तरता दिँदै कांग्रेसलाई बलियो बनाउने अभियानमा आफू सक्रिय रहने उनको भनाइ छ ।
