• Saturday 17th of October 2026

गायिका सिर्जना खत्री दुर्घटनामा घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका सिर्जना खत्री (हाउडे माया) दुर्घटनामा घाइते भएकी छन् । दसैँ मनाउन परिवारसहित सिन्धुपाल्चोक घर जाँदै गर्दा उनी चढेको बोलेरो जिप भक्तपुरको जगातीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गायिका खत्रीसहित परिवारका सदस्यहरू घाइते भएका छन् । घाइतेहरूको नयाँ ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो करिब ४ बजे गाडी अनियन्त्रित भई माथिल्लो सडकबाट तल्लो सडकमा खसेर दुर्घटना भएको थियो । उक्त गाडीमा गायिका खत्रीसहित उनका दाइ, भाउजू, दुई बालबालिका, गाउँका अन्य दुई जना र चालक सवार थिए ।

दुर्घटनामा गायिका खत्रीका दाइ, भाउजूसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको खुट्टा भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेकाले शल्यक्रिया गरिएको छ ।

गायिका खत्रीको ओठको भित्री भागमा चोट लागेको छ भने शरीरका विभिन्न भागमा समेत चोट लागेको छ । उनको अवस्था भने सामान्य रहेको छ ।

दसैँ मनाउन घर जाने क्रममा अप्रत्याशित दुर्घटनामा परिएको उनले फेसबुकमा उल्लेख गरेकी छन् ।

गायिका खत्रीका ‘हाहूरे माया’, ‘एक्सको माया’ र ‘नौटंकी माया’ लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖