• Wednesday 21st of October 2026

टाइगर श्राफमाथि गोली प्रहार गर्ने आरोपीकी आमाको दाबी : प्रलोभनमा पारेर छोरालाई फसाइयो


  • धनकुटा खबर
  • .

काठमाडाैँ। बलिउड अभिनेता टाइगर श्राफ जोडिएको गोलीकाण्डका तीन आरोपीमध्ये एककी आमाले आफ्ना छोरा रेहानलाई प्रलोभनमा पारेर नराम्रो काममा फसाइएको दाबी गरेकी छन्।

आइतबार साँझ करिब ७ बजे जुहुमा मोटरसाइकलमा आएका तीन जना आक्रमणकारीले श्राफको गाडीमाथि गोली चलाएका थिए।

आक्रमणमा अभिनेता श्राफ सामान्य चोटपटकबाट जोगिए पनि उनका चालक र अर्का एक सर्वसाधारण घाइते भएका थिए। घटनाको अनुसन्धानका क्रममा प्रहरीले हरियाणाको सोनीपतका दुई जना र बिहारका २२ वर्षीय ऋतिक कुमार उर्फ रोशन रामु महतोलाई पक्राउ गरिसकेको छ।

आरोपी रेहानकी आमा शमशिदाले मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै केही दिनअघि एक व्यक्ति आफ्नो घरमा आएर छोरालाई लगेको र त्यसपछि २० दिनसम्म सम्पर्क हुन नसकेको बताएकी छन्। शमशिदाका अनुसार उनका छोराले परिवारलाई सहयोग गर्न गुरुग्राममा वेल्डिङको काम सिक्दै थिए। बिहारका एक युवकले आफ्ना भाइले गुरुग्राममा वेल्डिङको काम गर्ने र उसलाई पनि सिकाउने बताएको र राम्रो पैसा दिने आश्वासनसमेत दिएको उनले दाबी गरिन्।

आफ्नो छोरालाई लिन घरमा आएका व्यक्तिलाई आफूले नचिनेको शमशिदाले बताएकी छन्। उनले भनिन्, ‘उसको मोबाइल फोन खोसिएको थियो, हामीले फोन गर्दा स्वीच अफ आउँथ्यो।’

उनले छोरालाई लैजानुअघि कुनै नशालु पदार्थ खुवाइएको आशंका गर्दै युवाहरूको फाइदा उठाउने समूहले रेहानको दुरुपयोग गरेको दाबी गरिन्। उनले भनिन्, ‘उनीहरूले युवाहरूको प्रयोग गरिरहेका छन् र दबाबमा पारेर गलत काम गराइरहेका छन्।’
छोरालाई केही सन्देश दिन चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा शमशिदाले भनिन्, ‘म भन्नेछु, छोरा, तिमीले जे गर्यौन त्यो ठीक थिएन र कसैको प्रलोभन वा प्रभावमा कहिल्यै पर्नु हुँदैन।’

यसैबिच रेहानका बुबा रईसुद्दिनले आफ्ना छोरा यसअघि पनि हातहतियार सम्बन्धी मुद्दामा पक्राउ परी जमानतमा छुटेको बताएका छन्। उनका अनुसार केही महिनाअघि बन्दुक सम्बन्धी मुद्दामा उनी पक्राउ परेका थिए र कारखानामा काम गर्ने उनकी आमाले नै जमानतको व्यवस्था गरेकी थिइन्।

कक्षा ९ मा पढ्दापढ्दै पढाइ छाडेका रेहान विगत १० वर्षदेखि आफूसँग नरहेको र देवदु गाउँमा आमासँग बस्दै आएको रईसुद्दिनले बताएका छन्। उनले छोराको गलत साथीहरूको संगतका कारण गोलीकाण्डमा संलग्न हुन पुगेको आरोप लगाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖