• Monday 2nd of November 2026

न्यायाधीशमाथि महाभियोगको चर्चाबीच पार्टीका सांसदसँग सभापति लामिछानेकाे छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीशमाथि महाभियोग लगाउने विषय चर्चामा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका कानुन व्यवसायी सांसदहरूसँग छलफल गरेका छन्।

सोमबार भएको छलफलमा कानुनमन्त्री सोविता गौतमसहित सांसदहरू मधु चौलागाईं, समीक्षा बाँस्कोटा, सुलभ खरेल र गजाला शमीम मिकरानी सहभागी रहेकाे स्राेतले बतायाे ।

छलफलमा लामिछानेले न्यायाधीशमाथि महाभियोग लगाउने संवैधानिक तथा कानुनी प्रक्रिया, त्यसका आधार र आवश्यक प्रमाणबारे चासो राखेका थिए।

छलफलमा सहभागी एक सांसदका अनुसार लामिछानेले न्यायालयलाई क्षति पुग्ने गरी हतारमा निर्णय गर्न नहुने धारणा राखेका थिए। महाभियोग लगाउने हो भने त्यसको आधार र कारण स्पष्ट हुनुपर्ने तथा प्रक्रिया सुरु गरेपछि बीचमै फिर्ता लिने अवस्था आउन नहुने उनको चासो थियो।

स्रोतका अनुसार तत्कालै महाभियोग दर्ता गर्ने निर्णय भने भएको छैन। महाभियोग सिफारिस समिति गठन नभइसकेको अवस्थामा प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

पार्टीभित्र न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा कानुनी आधार, प्रमाण र प्रक्रियाबारे थप अध्ययन गरेर मात्रै निर्णय लिनुपर्ने मत रहेको स्रोतको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖