काठमाडौं। ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालको राष्ट्रिय हितको रक्षा गर्न आन्तरिक राजनीतिक तथा संस्थागत समझदारी अपरिहार्य रहेको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा लेखेको पछिल्लो स्ट्याटस—‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’—लाई सन्दर्भ बनाउँदै पन्तले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
पन्तले जंगी अड्डा, नक्सालस्थित प्रहरी प्रधान कार्यालय, रवि लामिछाने, बालेन शाह र गगन थापाबीच राष्ट्रिय हितका विषयमा साझा समझदारी र समन्वय कायम हुनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार दिल्ली, वासिङ्टन डीसी र बेइजिङसँग नेपालको हितअनुकूल प्रभावकारी संवाद तथा कूटनीतिक वार्ता गर्नुअघि मुलुकभित्रै राजनीतिक नेतृत्व, सुरक्षा निकाय र राज्यका संस्थाहरूबीच आवश्यक ‘ट्युनिङ’ मिल्नुपर्छ। आन्तरिक रूपमा अविश्वास र असमझदारी कायम राखेर बाह्य शक्तिकेन्द्रहरूसँग प्रभावकारी रूपमा डिल गर्न नसकिने उनको तर्क छ।
अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालले आफ्नै आन्तरिक शक्ति र संस्थाहरूबीच द्वन्द्व बढ्न दिन नहुने पन्तको भनाइ छ।
उनले भनेका छन्, “सतरञ्जको खेलमा चेकमेट आफ्नै पक्षलाई होइन, बाह्य शक्तिकेन्द्रलाई दिन सक्नुपर्छ।”
पन्तका अनुसार नेपालको आन्तरिक राजनीतिक शक्ति र नेतृत्व विभिन्न दिशामा विभाजित देखिएको अवस्थामा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नु झन् आवश्यक छ। राष्ट्रिय हितका सवालमा राजनीतिक दल, सुरक्षा निकाय, संस्थागत नेतृत्व र अन्य सरोकारवालाबीच संवाद, समन्वय र सहकार्य हुनुपर्ने उनले बताएका छन्।
यसै सन्दर्भमा पन्तले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानको औचित्यसमेत पुनः स्मरण गराएका छन्। बदलिँदो भू-राजनीतिक परिवेशमा नेपालको राष्ट्रिय स्वार्थ, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन समृद्धिको संरक्षणका लागि व्यापक राष्ट्रिय समझदारी आवश्यक रहेको उनको धारणा छ।
उनले राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको रक्षा गर्न आन्तरिक एकतालाई नेपालको प्रभावकारी अन्तर्राष्ट्रिय कूटनीतिको आधार बनाउनुपर्ने बताएका छन्।
