मुम्बई, २९ कात्तिक । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित चर्चित बङ्गला ‘जलसा’ लाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।
यस सम्पत्तिलाई बमले उडाइदिने धम्की आएका बेला अमिताभका भाइ अजिताभकी पत्नी रामोलाले उक्त बङ्गला जया बच्चनको नाममा सारिएको विषयमा प्रश्न उठाएकी छिन्। विगत सात महिनायता रामोलाले रजिस्ट्रारको कार्यालयमा पटकपटक उजुरी दर्ता गराउँदै आफूलाई जानकारी नै नदिई उक्त बङ्गलाको स्वामित्व जया बच्चनको नाममा सारिएको आरोप लगाएकी छिन्।
‘द टाइम्स अफ इन्डिया’ र ‘मुम्बई मिरर’ मा प्रकाशित समाचारअनुसार रामोला बच्चनको दाबी छ कि ‘जलसा’ सुरुमा उनकै नाममा दर्ता गरिएको थियो। पछि सन् १९९३ को एक ‘गिफ्ट डीड’ (दानपत्र) मार्फत यसको स्वामित्व जया बच्चनलाई हस्तान्तरण गरियो। यस हस्तान्तरणको वैधतामाथि प्रश्न उठाउँदै रामोलाले आफूलाई यस विषयमा कुनै जानकारी नभएको र यसका लागि आफ्नो सहमति पनि नदिएको बताएकी छिन्।
प्रतिवेदनहरूका अनुसार, ‘कापोल हाउजिङ सोसाइटी’ को अभिलेखमा उक्त बङ्गलाको मालिकका रूपमा जया बच्चनको नाम उल्लेख छ, जबकि महाराष्ट्र सरकारको सम्पत्ति कार्डमा भने अझै पनि रामोला बच्चनको नाम देखिन्छ। सरकारी आधिकारिक अभिलेखबाट रामोला बच्चनको नाम हटाएर त्यहाँ जया बच्चनको नाम राख्ने प्रयास गरिएपछि यो विवाद पुनः सतहमा आएको हो।
रमोलाले स्वामित्व हस्तान्तरणलाई मात्र नभई सन् १९९३ मा ‘गिफ्ट डीड’ (दानपत्र) तयार पारिएको प्रक्रियालाई समेत चुनौती दिएकी छिन्। उनको उजुरीमा उक्त कागजात ‘स्टाम्प ड्युटी’ (राजस्व शुल्क) नतिरी साधारण कागजमा तयार पारिएको र त्यसमा कुनै पनि साक्षीको हस्ताक्षर नरहेको दाबी गरिएको छ। उनले यस कागजातको पछिल्लो दर्ता तथा महाराष्ट्र सरकारको ‘अभय योजना’ (आममाफी योजना) अन्तर्गत यसलाई वैधानिकता दिइएको प्रक्रिया माथि पनि प्रश्न उठाएकी छिन्।
अन्धेरीस्थित सहकारी संस्थाका उप-पञ्जकको कार्यालयका एक अधिकारी फैज मुलानीले यस विषयमा उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। मुम्बई मिरर को एक रिपोर्टअनुसार उनले सुनुवाइ प्रक्रिया सुरु भइसकेको र सम्बन्धित पक्षहरूलाई आफ्नो जवाफ पेस गर्न निर्देशन दिइएको बताएका छन्। हालसम्म, सन् १९९३ को ‘गिफ्ट डीड’ को वैधता वा उक्त बङ्गलाको वास्तविक स्वामित्वका सम्बन्धमा सम्बन्धित निकायले कुनै अन्तिम निर्णय लिइसकेको छैन।
अमिताभ बच्चनको बङ्गला ‘जलसा’ जुहूमा अवस्थित छ र यो करिब १०,१२५ वर्ग फिटमा फैलिएको छ। अमिताभले सन् १९८२ मा यो आलिसान बङ्गला उपहारस्वरूप पाएका थिए। सोही वर्ष उनको चलचित्र ‘सत्ते पे सत्ता’ प्रदर्शनमा आएको थियो र यसको अत्यधिक सफलतापछि चलचित्रका निर्देशक रमेश सिप्पीले उनलाई यो बङ्गला उपहार दिएका थिए। त्यसको केही वर्षपछि ‘बिग बी’ आफ्नो परिवारसहित त्यहाँ सरेका थिए। यसबाहेक, उनीसँग ‘प्रतीक्षा’ र ‘जनक’ नामका अन्य दुई बङ्गलाहरू पनि छन्।
