बंगालको खाडीमा विकसित भइरहेको ‘अक्वान’ नामक चक्रवात थप शक्तिशाली बन्ने अनुमान गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिण तथा पश्चिम-मध्य बंगालको खाडीको मध्य भागमा बनेको यो आँधी मंगलबार साँझसम्म ‘गम्भीर चक्रवाती आँधी’मा परिणत हुन सक्छ ।
मौसम विभागले नोभेम्बर १९ को बिहानसम्ममा यो आँधी ‘अति भीषण चक्रवाती आँधी’ बन्न सक्ने चेतावनी दिएको बीबीसी हिन्दीले जनाएको छ ।
पूर्वानुमानअनुसार नोभेम्बर २० को दिउँसो आन्ध्र प्रदेश र यनमको तटीय क्षेत्रमा नेल्लोर र तूनीको बीचमा आँधी ठोक्किन सक्ने सम्भावना छ । त्यसक्रममा हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटरसम्म पुग्न सक्ने र केही स्थानमा १४५ किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने अनुमान गरिएको छ ।
मौसम विभागले नोभेम्बर १६ देखि २२ सम्म भारतका विभिन्न राज्यमा वर्षाको सम्भावना औँल्याएको छ । केरल, माहे, तमिलनाडु, पुडुचेरी र कराईकलमा यस अवधिमा वर्षा हुने अनुमान छ । तटीय तथा आन्तरिक कर्नाटकमा नोभेम्बर २० देखि २२ सम्म तथा तटीय आन्ध्र प्रदेश, यनम र रायलसीमामा नोभेम्बर १६ देखि १८ र २१ देखि २२ सम्म वर्षा हुन सक्नेछ ।
त्यस्तै, तेलंगानामा नोभेम्बर १९ देखि २२ सम्म विभिन्न स्थानमा वर्षाको सम्भावना छ । पश्चिम मध्य प्रदेशमा नोभेम्बर २१ र २२, पूर्वी मध्य प्रदेशमा २० देखि २२, विदर्भमा १९ देखि २१ तथा छत्तीसगढमा पनि वर्षा हुने अनुमान गरिएको छ । झारखण्डमा नोभेम्बर २० र २१ तथा ओडिसामा १९ देखि २२ सम्म वर्षा हुन सक्ने विभागले जनाएको छ ।
पूर्वोत्तर भारतका असम, मेघालय, अरुणाचल प्रदेश र त्रिपुरालगायतका राज्यमा पनि नोभेम्बर २२ सम्म विभिन्न चरणमा वर्षाको सम्भावना छ ।
यसैबीच, नोभेम्बर १७ देखि २० सम्म हरियाणा, चण्डीगढ, दिल्ली र पञ्जाबमा बाक्लो कुहिरो लाग्न सक्ने मौसम विभागले जनाएको छ ।
