• Monday 23rd of November 2026

कुलगाममा लश्कर कमान्डर लतीफ भाट घेराबन्दीमा, सुरक्षाकर्मीद्वारा आत्मसमर्पण गर्न आग्रह


  • धनकुटा खबर
  • .

रौतहट, २ मंसिर । भारतको जम्मू–कश्मीरस्थित कुलगाम जिल्लामा सुरक्षाकर्मी र आतंकवादीबीच पुनः मुठभेड सुरु भएको छ। जंगलपोरा क्षेत्रमा लश्कर–ए–तैयबाका शीर्ष कमान्डर लतीफ भाट लुकेको सूचना पाएपछि सुरक्षाकर्मीले उनलाई घेराबन्दीमा पारेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जंगलपोरा क्षेत्रमा आतंकवादी लुकेको गोप्य सूचना प्राप्त भएपछि सुरक्षाकर्मीले दिउँसो करिब २ः१५ बजे घेराबन्दी तथा खोजी अभियान सुरु गरेका थिए। 

सुरक्षाकर्मीको टोली शंकास्पद स्थान नजिक पुगेपछि लुकेर बसेका आतंकवादीले गोली चलाएका थिए। त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी कारबाही सुरु गरेपछि दुवै पक्षबीच मुठभेड भएको हो।

सुरक्षा अधिकारीका अनुसार आतंकवादीसँग सम्पर्क स्थापित भएको छ र दुवैतर्फबाट गोलीबारी जारी छ। आतंकवादीलाई भाग्न नदिन तथा घेराबन्दी थप मजबुत बनाउन घटनास्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरक्षाकर्मीले घेराबन्दीमा परेका लश्कर कमान्डर लतीफ भाटलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन्। उनी हालै कुलगाममा भएको आतंकवादी आक्रमणका मुख्य योजनाकार रहेको आशंका गरिएको छ। उक्त आक्रमणपछि भारतीय सुरक्षा निकायले उनको खोजी तीव्र बनाएको थियो।

जंगलपोरा क्षेत्रमा भएको यो मुठभेड हालै आतंकवादी हमला भएको स्थानबाट करिब एक किलोमिटरको दूरीमा रहेको बताइएको छ।

यसैबीच, नजिकैको लारू क्षेत्रमा पनि आतंकवादविरोधी अभियान जारी छ। गत नोभेम्बर १६ मा भएको मुठभेडमा लतीफ भाटका निकट सहयोगी तथा आतंकवादी उमर मारिएका थिए। त्यसयता सुरक्षाकर्मीले लतीफ भाटको खोजीलाई थप तीव्र बनाएका छन्।

पछिल्लो सात दिनदेखि कुलगाम जिल्लाका विभिन्न गाउँमा आतंकवादीको खोजी तथा नियन्त्रण अभियान सञ्चालन भइरहेको छ। सुरक्षा निकायले लतीफ भाट उक्त क्षेत्रमा सक्रिय रहेको आशंकामा व्यापक निगरानी र खोजतलास गरिरहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖