काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक द्वन्द्व चर्किँदै गएको टिप्पणी गरेका छन्।
दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेबीचको शक्ति संघर्षले पार्टी विभाजनसम्मको अवस्था आउन सक्ने बताएका हुन्।
उनले प्रधानमन्त्रीले सभापति लामिछानेलाई पक्राउ गर्नेदेखि सभापतिले प्रधानमन्त्रीलाई विस्थापित गरेर आफैँ सरकारको नेतृत्व गर्नेसम्मका सम्भावना औँल्याए।
‘कुनै पनि बेला पार्टी फुट्यो भने आश्चर्य मान्नुपर्दैन। प्रधानमन्त्रीले सभापति रविलाई थुने भने पनि आश्चर्य मान्नुपर्दैन,’ पुनले भने।
उनले आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनतर्फ जाने प्रयास गर्न सक्ने आशंकासमेत व्यक्त गरे।
