• Monday 23rd of November 2026

प्रधानमन्त्री बालेनको भारत भ्रमण आजदेखि, स्वागतका लागि दिल्लीमा नेपाल–भारतका झण्डा राखियो


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्री शाहको भ्रमणलाई स्वागत गर्न नयाँदिल्लीमा विशेष तयारी गरिएको छ। राजधानीका विभिन्न चोक तथा सार्वजनिक स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन्। भारतीय सरकार तथा विदेश मन्त्रालयले स्वागत, सुरक्षा, कूटनीतिक समन्वय र भ्रमणका कार्यक्रम व्यवस्थापनलाई प्राथमिकताका साथ तयारी गरेको जनाइएको छ।

भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपाली दूतावासले भ्रमणलाई सफल र उपलब्धिमूलक बनाउन भारतीय पक्षसँग समन्वय गरिरहेका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आजै भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्नेछन्। त्यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने जनाइएको छ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा भारतीय व्यवसायीलाई नेपालमा लगानीका अवसर, सरकारले अवलम्बन गरेका नीतिगत व्यवस्था तथा लगानी आकर्षित गर्न भइरहेका प्रयासबारे जानकारी गराइनेछ। नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको वातावरण निर्माण गर्नु तथा भारतीय व्यवसायीका चासो र सरोकार सम्बोधन गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको छ।

भ्रमणको समाचार संकलनका लागि नयाँदिल्ली पुगेका नेपाली पत्रकारहरूको सहजताका लागि आवश्यक समन्वय तथा मिडिया डेस्कको व्यवस्था गरिएको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी हुनेछन्।

भ्रमण तालिका

आइतबार, मंसिर ६ गते

– दिउँसो १:४५ बजे — नयाँदिल्ली प्रस्थान
– अपराह्न ३:१५ बजे — नयाँदिल्ली अवतरण
– साँझ ६:०० बजे — होटल ताजमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट

सोमबार, मंसिर ७ गते

– बिहान १०:०० बजे — राष्ट्रपति भवनमा सम्मान ग्रहण
– बिहान १०:४० बजे — राजघाटमा पुष्पहार अर्पण
– बिहान ११:०० बजे — हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता
– मध्याह्न १२:२५ बजे — संयुक्त पत्रकार सम्मेलन
– दिउँसो ३:१५ बजे — राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट
– दिउँसो ४:५० बजे — भारतबाट स्वदेश प्रस्थान

प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमण सम्पन्न गरी सोमबार साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖