काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता **होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने** तयारीसहित प्रधानमन्त्री बालेन्द्र शाहले आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार एनपीएलका आठवटै क्लबले आफ्नै घरेलु मैदानमा खेल खेल्न पाउने गरी रंगशाला निर्माण गरिनेछ । ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने उनले बताएका छन् ।
फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने घोषणा गरिएको छ ।
योजना अनुसार विभिन्न फ्रेन्चाइजका लागि निम्न स्थानमा क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
– विराटनगर किंग्स — बैजनाथपुर क्रिकेट रंगशाला
– लुम्बिनी लायन्स — सिद्धार्थ क्रिकेट रंगशाला
– कर्णाली याक्स — सुर्खेत क्रिकेट रंगशाला
– सुदूरपश्चिम रोयल्स — फाप्ला क्रिकेट रंगशाला
– काठमाडौं गुर्खाज — कीर्तिपुर क्रिकेट मैदान
– पोखरा एभेन्जर्स — पोखरा क्रिकेट रंगशाला
– जनकपुर बोल्ट्स — रामजानकी क्रिकेट रंगशाला
– चितवन राइनोज — गौतमबुद्ध क्रिकेट रंगशाला
प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता बढाउन आवश्यक खेल पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यस घोषणासँगै आगामी दिनमा एनपीएललाई घरेलु मैदानमा आधारित प्रतियोगिताका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
