काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दा उनी सवार जहाज विश्वभरमै सबैभन्दा बढी प्रत्यक्ष हेरिएको उडान बनेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका थिए । उनको उडानलाई प्रत्यक्ष ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा एकैपटक २ हजार २१५ जनाले हेरिरहेका थिए ।
फ्लाइट राडार २४ को विवरणअनुसार प्रधानमन्त्री सवार नेपाल एयरलाइन्सको एयरबस ए–३२० जहाज (उडान नम्बर आरए २१७, कलसाइन आरएनए २१७) दिउँसो १:४५ बजे उड्ने निर्धारित समय रहे पनि २३ मिनेट ढिलो गरी दिउँसो २:०८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।
भारतीय समयअनुसार दिउँसो ३:१५ बजे दिल्ली अवतरण गर्ने तालिका रहेको उक्त जहाजको अनुमानित अवतरण समय ३:२० बजे देखाइएको थियो ।
उडान भरेलगत्तै प्रधानमन्त्री सवार जहाज फ्लाइट राडार २४ मा विश्वकै सर्वाधिक ट्र्याक गरिएको उडान बनेको थियो । एकैपटक २ हजार २१५ जनाले उक्त जहाजको उडान गतिविधि प्रत्यक्ष हेरिरहेका थिए ।
फ्लाइट राडारको नक्सामा जहाज त्रिभुवन विमानस्थलबाट उडेर कोटेश्वर, ललितपुरको लगनखेल र जावलाखेल क्षेत्र हुँदै भैँसेपाटीतर्फ मोडिएर दिल्लीको मार्गमा अघि बढेको देखिएको थियो ।
उडानको सुरुवाती सात किलोमिटर दूरी पार गर्दा दिल्ली पुग्न अझै ८११ किलोमिटर दूरी बाँकी रहेको विवरण ट्र्याकरमा देखाइएको थियो । उक्त दूरी पार गर्न करिब १ घण्टा २५ मिनेट लाग्ने अनुमान गरिएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमणसँगै उनको हवाई यात्राप्रति समेत अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय चासो देखिएको यस घटनाले संकेत गरेको छ ।
