काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
मंसिर २१ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै निधिले सभापतिमा उम्मेदवारी दिने गरी आन्तरिक छलफल र तयारी अघि बढाएका हुन् ।
सभापतिमा उम्मेदवारी दिने आफ्नो तयारीबारे निधिले महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई समेत जानकारी गराइसकेको बताइएको छ ।
हिजो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्नुअघि निधिले कोइरालासँग भेट गरेका थिए । भेटमा निधिले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको निधिनिकट एक नेताले जानकारी दिए ।
