यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमरबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिर्सटको पासोसहित झुन्डिएको अवस्थामा शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए।
शौचालयमा बिहान पाँच बजेतिर उनी मृत अवस्थामा फेला परेका थिए।
स्थानीय एक जना ८ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी कात्तिक ७ गते पक्राउ परेका थिए।
उक्त घटनामा सशस्त्र प्रहरीका जवान मगर र सहायक हवल्दार भरत रोका मगरलाई पक्राउ गरी घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको सशस्त्र प्रहरीका केन्द्रीय सहायक पवक्ता शैलेन्द्र थापाले बताएका थिए।
