काठमाडौं । साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए ।
राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म क्षेत्र छाडेको पुष्टि गरेका छन् । अभिनेताले आइतबार आफ्नो पहिलो र्यालीमा फ्यानसँग पनि कुरा गरे ।
विजयले तमिलनाडुमा फ्यानसँग कुरा गर्दै भने, ‘मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र आफ्नो पारिश्रमिकलाई पनि लात मारें । म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ ।’
गत सेप्टेम्बर सार्वजनिक एक रिपोर्टमा विजयलाई धेरै कमाउने भारतीय अभिनेताको रुपमा चित्रण गरिएको थियो ।
इ-टाइम्ससहित केही भारतीय सञ्चारमाध्यमका अनुसार थलापति विजयले आगामी फिल्म ‘थलापति ६९’ को लागि २७५ करोड भारु पारिश्रमिक लिएका छन् । विजयले तमिल फिल्ममा आफ्नो प्रवेशको बारेमा पनि कुरा गरे । उनले भने, ‘मेरो सिनेमा करिअरको सुरुमा मलाई मेरो अनुहार राम्रो छैन, म राम्रो देखिन्न, मेरो कपाल र मेरो चाल पनि राम्रो थिएन भनेर भनिएको थियो । उनीहरुले मलाई यसरी लज्जित तुल्याए ।’
