• Monday 5th of October 2026

विश्वकप क्रिकेटको उद्घाटन खेल कुमार धर्मसेना र नितिन मेननले खेलाउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । आगामी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल खेलाउने अम्पायरको टुंगो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, प्रतियोगिताको उद्घाटन खेल कुमार धर्मसेना र नितिन मेननले खेलाउने छन् ।

प्रतियोगिताको उद्घाटन खेल अक्टोबर ५ मा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ । इङ्ल्यान्ड एकदिवसीय विश्वकपको साबिक विजेता र न्युजिल्यान्ड साबिक उपविजेता राष्ट्र हुन् ।

चार वर्षअघि भएको १२औँ विश्वकपको रोमाञ्चक फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराउँदै पहिलो पटक उपाधि हात पारेको थियो । १३औं विश्वकपको उद्घाटन खेलमा फिल्ड अम्पायरद्वय धर्मसेना र मेननलाई टिभी अम्पायर पल विल्सन, फोर्थ अम्पायर साहिद सैकत र म्याच रेफ्री जभागल श्रीनाथले साथ दिनेछन् ।

धर्मसेना श्रीलङ्काका र मेनन आयोजक राष्ट्र भारतका नागरिक हुन् । धर्मसेना श्रीलङ्काका पूर्वखेलाडी पनि हुन् । उनले श्रीलङ्काली टोलीबाट एकदिवसीय विश्वकप पनि खेलेका थिए । सन् २०१५ मा धर्मसेना एकदिवसीय विश्वकप खेल्ने र एकदिवसीय विश्वकपको फाइनलमा अम्पायरको भूमिका निर्वाह गर्ने पहिलो व्यक्ति बनेका थिए ।

मेननले भने एकदिवसीय विश्वकपमा पहिलो पटक अम्पायरको भूमिका निर्वाह गर्न लागेका हुन् । बंगलादेशी नागरिक साहिद सैकतले पनि एकदिवसीय विश्वकपमा पहिलो पटक फोर्थ अम्पायरको भूमिका निर्वाह गर्न लागेका हुन् ।

आगामी एकदिवसीय विश्वकप खेलाउने अम्पायरहरूमा क्रिस ब्राउन (न्युजिल्यान्ड), कुमार धर्मसेना (श्रीलंका), मराइस एरास्मस (दक्षिण अफ्रिका), क्रिस्टोफर गफानी (न्युजिल्यान्ड), माइकल गफ (इङ्ल्यान्ड), एड्रिन होल्डस्टोक (दक्षिण अफ्रिका), रिचर्ड इलिङ्वर्थ (इङ्ल्यान्ड), रिचर्ड केटलब्रघ (इङ्ल्यान्ड), नितिन मेनन (भारत), अहसान राजा (पाकिस्तान), पल रिफेल (अस्ट्रेलिया), सरफुदुल्ला साहिद (बंगलादेश), रोड्नी टुस्कर (अस्ट्रेलिया), एलेक्स वार्फ (इङ्ल्यान्ड), जोल विल्सन (वेस्ट इन्डिज) र पल विल्सन (अस्ट्रेलिया) रहेका छन् ।

यसैगरी आगामी विश्वकपमा म्याच रेफ्रीको भूमिकामा जेफ क्रोवे (न्युजिल्यान्ड), एन्डी पाइक्रफ्ट (जिम्बाबे), रिची रिचर्डसन (वेस्ट इन्डिज) र जभागल श्रीनाथ (भारत) रहेका छन् । विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतका विभिन्न १० वटा रङ्गशालामा खेलाइने छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖