• Tuesday 6th of October 2026

१९ वर्षीय अनिष : जसले लोकसेवाका सात परीक्षा उत्तीर्ण गरे


  • धनकुटा खबर
  • .

गुल्मी । गुल्मीका अनिष गिरीले १९ वर्षको उमेरमै लोकसेवाका सात परीक्षा उत्तीर्ण गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका अनिष गिरीले १८ वर्ष पुगेपछि दिएका सात वटै परीक्षा सफलतापुर्वक उत्तीर्ण गरेका हुन् ।

गत असारमा मात्र १९ वर्ष पुगेका गिरीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको प्रशासनतर्फ वरिष्ठ सहायक पाँचौ तह, लेखातर्फ वरिष्ठ लेखा सहायक पाँचौ तह, नेपाल वायुसेवा निगमको लेखातर्फ पाँचौ तह, लुम्बिनी प्रदेश निजामतीकाे प्रशासनतर्फ सहायकस्तर पाँचौ तह, लुम्बिनी प्रदेशबाट स्थानीय तहतर्फ सहायक पाँचौ तह प्रशासन, लेखातर्फ लेखा सहायक पाँचौ तह र आन्तरिक लेखा परीक्षण तर्फ आलेप सहायक पाँचौ तहमा उत्तीर्ण भएका हुन् ।

गिरी हाल नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडकाे भैरहवा शाखामा बरिस्ठ लेखा सहायक पदमा कार्यरत छन् । उनले उमेर पुगेपछि सम्भवतः सबैभन्दा छाेटाे समयमा लाेकसेवाले लिएकाे नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा नाम निकालेका थिए । सानै उमेरमा सफल भइरहेका अनिष गिरीले आफूले गरेको मेहनतले सार्थकता पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

परिवारबाटै लाेकसेवामा प्रेरित भएका गिरी छाेटाे समयमै धेरै परिक्षामा सफल हुँदा हर्षित भएको बताए । उनी भन्छन् ‘मुख्यतः पारिवारिक हौसला नै हो अनि अर्को युवाको हैसियतले केही गर्नुपर्ने हुँदा यतातिर लाग्दा देश तथा आफूलाई पनि हित हुने भएकाले आकर्षण रह्यो । त्यसपछि गुल्मीको माहाेल नै लोकसेवामय हुँदा थप केही भन्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

गिरीको परिवारमा दाजु मनिष गिरी निजामती सेवामा छन् । बुबा धनु गिरी स्थायी शिक्षक हुन् । उनी छापहिले माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖