• Tuesday 6th of October 2026

विश्वकपमा छनोट भएको नेपाली यू-१९ महिला टोलीलाई एनपिएलका आठ टोलीले १० लाख दिने


  • धनकुटा खबर
  • .

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीलाई नेपाल प्रिमियर लिग (एनपिएल) का आठ टोलीले संयुक्त पुरस्कारको घोषणा गरेका छन्।

एनपिएलका अनुसार आठ टोलीले संयुक्त रुपमा दश लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार र अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो।

यसअघि बुधबार युएईमा सकिएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा पुगेको थियो।

नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।

विश्वकपमा छनोट भएसँगै नेपाली यू-१९ टोलीले एसिया कप समेत खेल्ने भएको छ। विश्वकपमअघि हुने एसिया कप मलेसियामै हुनेछ। मलेसियामा यू-१९ एसिया कप १५ देखि २२ डिसेम्बरसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका समेत पक्का भइसकेको छ।

यू-१९ महिला एसिया कप एसिसीले पहिलो पटक सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा श्रीलंका, मलेसिया र बंगलादेशले भिड्नेछन्।

विश्वकपअघि एसिया कपमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीलाई राम्रो अनुभव हुनेछ। अझ मलेसियामै एसिया कप हुँदा नेपाललाई मैदानको समेत ज्ञान हुँदा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग मिल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖