वीरगञ्ज । गृहमन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै चिकित्सक (डाक्टर) हरूले वीरगञ्जमा पनि प्रदर्शन गरेका छन् । मेडिकल एसोसिएसन अफ नेपालको अगुवाइमा डाक्टरहरूले बिहीबार साँझ विरोध जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।
जुलुसमा सहभागी डाक्टरहरूले ‘स्वास्थ्य मन्त्री राजीनामा दे’, ‘डाक्टर कुट्न पाइँदैन’, ‘की सुरक्षा दे, की भिसा दे’, ‘जेल वीथ आउट बेल लागु गर’ लगायतका नारा पनि लगाएका थिए ।
बिर्तास्थित मेडिकल एसोसिएसन अफ नेपालको नारायणी शाखा भवन अगाडिबाट निस्किएको डाक्टरहरूको विरोध जुलुस नगर परिक्रममा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै मेडिकल एसोसिएसन अफ नेपालको नारायणी शाखा अध्यक्ष डाक्टर मनोज गुप्ताले देशका विभिन्न स्थानका अस्पतालभित्रै डाक्टरहरूमाथि आक्रमण भइरहँदा पनि सरकार मौन बसेको बताए । दिनहुँ डाक्टर कुटिँदा पिन गृहमन्त्री र स्वास्थ्य मन्त्री कानमा तेल हालेर बसेकोले दुवै मन्त्रीको राजीनामा माग गरिएको उनले बताए । उनले भने, ‘की त सरकारले हामीलाई सुरक्षा दिनु पर्यो की त विदेश जाने भिसा दिनु पर्यो । नेपालमा बसेर काम गर्न सक्ने अवस्था नै देखिएको छैन ।’
डाक्टरमाथि कुटपिट र आक्रमण गर्नेहरूलाई कारबाही गर्नुको सट्टा राज्यका निकायले नै मिलापत्र गर्ने दबाब डाक्टरमाथि दिनुले सरकार आफैँले नेपालमा डाक्टरहरू नबसुन् भन्ने चाहेको प्रस्ट भएको उनले बताए ।
प्रदर्शनमा सहभागी एसोसिएसनका निवर्तमान महासचिव डा. उदयनारायण सिंहले आफै असुरक्षित भएर डाक्टरले बिरामीको उपचार गर्न नसक्ने बताए । उनले भने, ‘हामीले यो सरकारसँग अरू केही होइन केवल सुरक्षाको माग गरेका छौँ, डाक्टर कुट्नेलाई कानुनी कारबाही होस् भनेका छौँ । तर सरकारी निकायले नै कुटपिट गर्नेहरूसँग उल्टै मिलापत्र गर भनेर डाक्टरहरूलाई दबाब दिइरहेको छ । यस्तो अवस्थामा हामी डाक्टरहरूको मनोबल झन् खस्किएको छ ।’
मेडिकल एसोसिएसन अफ नेपालको नारायणी शाखा अध्यक्ष डा. मनोज गुप्ताको अध्यक्षतामा भएको प्रदर्शनमा वीरगञ्जमा रहेका सरकारी र निजी अस्पताल, क्लिनिक, नर्सिङ होम, मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूको सहभागिता थियो ।
यसअघि बुधवार पनि वीरगञ्जको घण्टाघर चोकमा चिकित्सकहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
