काठमाडौं । स्वास्थ्य विशेषज्ञहरू सधैँ घरमै बनेको खाना खान सल्लाह दिन्छन् । किनभने बाहिर पाइने फास्ट फूड र पेय पदार्थको अधिक सेवनले क्यान्सरजस्ता ज्यान लिने रोगहरूको जोखिम बढ्न सक्छ । अस्वस्थ खाद्य पदार्थहरूले पाचन प्रणालीसम्बन्धी क्यान्सरको जोखिम बढाउन सक्ने हालैको एक अध्ययनले खुलासा गरेको छ । यस्ता खाद्य पदार्थका कारण ५० वर्षभन्दा कम उमेरका मानिसमा पनि आन्द्राको क्यान्सरको समस्या बढ्दै छ ।
रातो मासु, प्रशोधित मासु, फास्ट फूड, चिनीयुक्त पेय पदार्थ र मदिराको अत्यधिक सेवनले ग्यास्ट्रिक क्यान्सरको जोखिम बढाउन सक्ने अष्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयका शोधकर्ताहरूले नयाँ अनुसन्धानमा बताएका छन् ।
पिज्जा, बर्गर, मःम, चाउमिनजस्ता खाद्य पदार्थहरूको अधिक सेवनले शरीर सुन्निने र क्यान्सरको जोखिम बढाउने विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार ५० वर्षभन्दा कम उमेरका मानिसमा आन्द्रा क्यान्सरका घटनाहरू बढिरहेको देखिएको छ । यसर्थ ती मानिसहरूले आफ्नो आहारमा फाइबरको सेवन बढाउनु पर्छ र खाने बानी सुधार्नुपर्छ ।
विशेषज्ञहरूको अनुसार स्वस्थ फ्याट र सागसब्जीहरूबाट भरिपूर्ण आहार, चिनी तथा मदिराको कम सेवनले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न सक्छ । फलफूल, सागसब्जी, अन्न, माछा र डेरी उत्पादनहरूको अधिक सेवनले ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न सक्ने अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा पाइएको छ । यो अध्ययनले भन्छ–फाइबरले भरिपूर्ण खानेकुराले आन्द्राका राम्रो ब्याक्टेरियालाई बढाउँछ । यी खाद्य पदार्थहरूको सेवन गर्ने मानिसमा जीआई क्यान्सरको जोखिम कम हुन सक्छ ।
फास्ट फूड जस्तै प्रोसेस्ड मिट, तारिएको खाद्य पदार्थ र चिनी भएका पेय पदार्थहरूले क्यान्सरको जोखिम बढाउन सक्छन् । यस्ता खाद्य पदार्थमा उच्च फ्याट र उच्च चिनी हुन्छ । जसले शरीर सुनिने र क्यान्सरजनक तत्त्वहरूको संचय गर्न सक्ने धेरै अनुसन्धानले देखाएका छन् । यी खाद्य पदार्थहरूको नियमित सेवनले ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर र पेटको क्यान्सरको जोखिम बढाउन सक्छ । फास्ट फूडहरूमा रासायनिक पदार्थ र कृत्रिम एडिटिब्स हुन्छन्, जसले शरीरमा मेटाबोलिक असन्तुलन पैदा गर्न सक्छ । यसबाट कोषिका क्षति र अनियन्त्रित कोषिका वृद्धि हुन सक्छ, जसले क्यान्सरको कारण बन्न सक्छ ।
स्वस्थ र सन्तुलित आहार, घरमै बनाएको खाना र स्वस्थ जीवनशैली अपनाउँदा क्यान्सरजस्ता गम्भीर रोगहरूबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ ।
