नेदरल्यान्ड्सको रोटरडम सहरमा दुई वटा गोलीवारिमा कम्तीमा तीन जनाको हत्या भएको छ । बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले घरमा आगजनी गर्नुअघि गोली चलाएका थिए त्यसपछि सहरको इरास्मस मेडिकल सेन्टरमा आक्रमण गरेका थिए । उनी अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी थिए ।
पहिलो गोलीवारिमा ३९ वर्षीय एक महिला र उनकी १४ वर्षीय छोरीको मृत्यु भएको थियो । अस्पतालमा ४३ वर्षीय पुरुष प्राध्यापकको गोली हानी हत्या भएको छ । आक्रमणको कारण तत्काल थाहा हुन सकेको छैन ।
घटनास्थलमा आफू पहिलो भएको बताउने एक सुरक्षा गार्डले बिबिसीलाई यो चकित पार्ने दिन भएको बताएका छन् ।
नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले सामाजिक सञ्जालमा एउटा पोस्टमा लेखेका छन्, “हिंसाका पीडितहरूलाई श्रद्धाञ्जली, उनीहरूका प्रियजनहरू र ठूलो डरमा परेका सबै मानिसहरू शान्त रहने कोसिस गर्नुहोला ।”
