दमास्कस । सिरियाका राष्ट्रपति बशर अल–असदको एउटा विमान दुर्घटनामा मृत्यु भएको आशङ्का गरिएको छ ।
विद्रोहीहरू छिरेर राजधानी दमास्कसलाई आफ्नो नियन्त्रणमा लिएपछि असद भागेको बताइएको छ । यसैबिच उनी चढेर गएको विमान रडारको सम्पर्कबाट हराउनुअघि असामान्य बाटोमा गएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
दमास्कसबाट उडान भर्ने अन्तिम विमान इल्युशिन–७६ थियो । फलाइट रडार वेबसाइटको डेटा अनुसार विद्रोहीहरूले दमास्कसलाई कब्जामा लिएकै समयमा दमास्कस विमानस्थलबाट एउटा उडेको विमान छ । यो विमान सुरुमा सिरियाको तटीय क्षेत्रतिर गएको थियो तर अचानक फर्कियो र राडारबाट हराउनुअघि कयौँ मिनेट विपरीत दिशातिर हानियो । विमानमा को थियो भनेर पत्ता लगाउन नसकेको रोयटर्सले भनेको छ । तर सिरियामा दुई स्रोतले भने विमान दुर्घटनामा असदको मृत्यु भएको हुन सक्ने बताएका छन् ।
आइतबार बिहान ८ बजे असदले सिरिया छाडेको भनिएको छ । यो घटना र असदको बहिर्गमन दुवैको सूचना एक अर्कासँग जोडिएको देखिएको छ । असदको विमान अन्तिम पटक देखिएको ठाउँ नजिक विस्फोटको आवाज सुनिएको पनि भनिएको छ । सामाजिक सञ्जालमा असद चढेको विमानलाई खसालिएको हुनसक्ने अफवाह फैलिएका छन् ।
