• Tuesday 6th of October 2026

आज लिग चरणको अन्तिम खेल : सुदूरपश्चिम र कर्णाली भिड्दै, काठमान्डुका लागि भाग्यको फैसला


  • धनकुटा खबर
  • .

काठमाडौं । गत मंसिर १५ देखि कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर (एनपीएल)मा आज (सोमबार) लिग चरणका खेल सकिँदै छन् ।

अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमने–सामने हुँदैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।

यसअघि भएका ६ खेलमध्ये ५ मा जित हासिल गरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ । उसले १० अंक जोडेको छ । दोस्रो स्थानका जनकपुर बोल्ट्सको पनि १० अंक नै छ । आजको खेल जितेमा सुदूरपश्चिम १२ अंकसहित निर्विवाद शीर्ष स्थानमा रहने छ ।

पहिलो र दोस्रो स्थानका टोलीले क्वालिफायर–१ खेल्नेछन् । यसको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले क्वालिफायर–२ खेल्नेछ । तेस्रो र चौथोको विजेता टोलीसँग खेल्ने छ । उक्त खेल जिते फाइनलमा पुग्नेछ ।

आजको खेल कर्णाली र काठमान्डु गुर्खाजका लागि महत्वपूर्ण छ । किनकि हालसम्म दुवैको ८–८ अंक छ । तर रेनरेटमा कर्णाली अगाडि छ । यदि आजको खेल जितेमा कर्णाली प्लेअफमा पुग्नेछ भने काठमान्डु बाहिरिने छ । यसर्थ सुदूरपश्चिम र कर्णालीबीचको आजको खेल काठमान्डुका लागि पनि भाग्यको फैसला हुनेछ ।

कर्णाली सुदूरपश्चिमसँग भारी अन्तरले पराजित भएमा काठमान्डु प्लेअफमा जानेछ । यस्तो अवस्थामा कर्णाली बाहिरिने छ ।

सुदूरपश्चिम र जनकपुरसँगै चितवन राइनोज पनि एनपीएलको प्लेअफमा पुगिसकेको छ । चितवन प्लेअफ पुग्ने तेस्रो टिम हो ।

आठ टोली सम्मिलित प्रतियोगितामा लुम्बिनी लायन्स, पोखरा र विराटनगर किंग्सको यात्रा भने समाप्त भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖