• Tuesday 6th of October 2026

२४ घण्टा नबित्दै ‘कार्साङ’को ट्रेलर ट्रेन्डिङमा


  • धनकुटा खबर
  • .

काठमाडौं । दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ’को ट्रेलरले युट्युवमा लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर युट्युवको नेपाल ट्रेन्डिङको मूभिज खण्डतर्फ दोस्रो स्थानमा स्ट्रिमिङ छ ।

पहिलो स्थानमा सलमान खान स्टारर बलिउड फिल्म ‘सिकन्दर’को टिजर छ । तेस्रोमा वरुण धवन स्टारर एक्सन फिल्म ‘बेबी जोन’को ट्रेलर र चौंथोमा हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘सुपरम्यान’को टिजर छ ।

‘कार्साङ’को ट्रेलरको कुरा गर्दा यसले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । दयाहाङ र जितु नेपालको अभिनयको प्रशंसा गर्दै दर्शकले शेर्पा समुदायको कथा नजिकबाट हेर्न पाइने आशा व्यक्त गरेका छन् ।

‘यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ’ निर्देशक यम शेर्पाले भने, ‘दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पुरा हुने गरी हामीले फिल्म बनाएका छौँ ।”

ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष, समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाइएको छ । साथै मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाइएको छ ।

२६ पुसमा रिलिज हुने फिल्म ग्रामीण परिवेशमा र पारिवारिक कथावस्तुमा आधारित रहेको निर्देशक शेर्पाले बताए । फिल्ममा सिर्जना निङलेखुसँगै दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖